बुधबार, जेठ १, २०८२

जनताले विश्वास गर्नेगरी भ्रष्टाचारीलाई कारबाही गर्न गण्डकी प्रदेशका प्रमुखकाे आग्रह

नेपालखोज २०७८ कार्तिक २९ गते १८:३३

काठमाडाैं । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जनताले विश्वास गर्नेगरी भ्रष्टाचारीहरुलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग गण्डकी प्रदेशको ३१औं वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख गुरुङले ठूल्ठूला भ्रष्टाचारको मुद्दाहरुमा जनतालाई विश्वास हुनेगरी अख्तियारले काम गर्न नसकेको भन्दै जनतालाई विश्वास हुनेगरी काम गर्न आग्रह गरेका हुन् ।

भ्रष्टाचारको मुद्दामा ठूलाहरु कमै फस्ने गरेको उनले बताए । भ्रष्टाचारीलाई अख्तियारले कारबाही गर्छ भन्ने जनविश्वास स्थापित हुनेगरी काम गर्न उनले सुझाव दिए ।

प्रदेश प्रमुख गुरुङले भ्रष्टाचार गर्ने जुनसुकै तहका जनप्रतिनिधि अथवा प्रशासकलाई अख्तियारले आफ्नो दायरामा ल्याउनुपर्ने बताए । सबैलाई मुलुकप्रति जिम्मेवार बनाउने जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले सो जिम्मेवारीलाई राम्ररी पुरा गर्नुपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन प्रदेश कार्यालय पोखराका प्रमुख कोषहरि निरौलाले प्रदेश प्रमुख गुरुङलाई हस्तान्तरण गरेका छन् ।

आ.व. २०७७/७८ मा पोखरा कार्यालयमा ९ सय ३२ उजुरी परेकोमा ५ सय वटाको फछ्यौट भइसकेको र ४ सय ३२ वटा फछ्यौट हुन बाँकी रहेको निरौलाले जानकारी दिए ।

गण्डकीमा स्थानीय तह, संघीय मामिला, शिक्षा, भुमि व्यवस्था कार्यालयमा अन्य कार्यालय तुलनामा धेरै उजुरी परेको पाइएको छ । प्रदेशभर गत आ.व.मा ४ सय उजुरी परेकोमा तीमध्ये मुस्ताङमा सबैभन्दा कम ६ वटा उजुरी परेका छन् ।

प्रतिक्रिया