आइतबार, असार ८, २०८२

‘हैन, हैन सद्‌गुरु म आज मर्दिनँ’

नेपालखोज २०७८ कार्तिक ३० गते ६:२४

प्रश्न : सद्गुरु, जबजब म नयाँ मानिहरूको साथमा नयाँ ठाउँमा जान्छु, मलाई उनीहरुसँग घुलमिल हुन गाह्रो हुन्छ । म सधैँजसो विगतको बारेमा सोचिरहन्छु, ती मानिसहरूको बारेमा सोचिरहेको हुन्छु, जोसँग केही पल बिताएको थिएँ । यस्तो स्थितिमा म के गरूँ ?

सद्गुरु : कोही भविष्यको बारेमा सोचिरहेका छन्, कोही विगतको बारेमा सोचिरहेका छन्, कोही पनि यहाँ छन् जस्तो लाग्दैन ! तपाईंले अग्रजहरूसँग कुरा गर्नुपर्छ । उनीहरू भन्ने गर्छन्, ‘ओहो ! म स्कुलमा हुँदा…कलेजमा हुँदा…।’ के तपाईंले यी गफहरू सुन्नुभएको छ ? उनीहरू जब स्कुल-कलेजमा थिए, तपाईं जस्तै भुतभुताइ रहन्थे । तर, अहिले जब उनीहरू आफ्नो विगतलाई हेर्छन्, आफ्नो जीवनलाई एकदमै निरश बनाएको महसुस गर्छन्, तब अचानक स्कुलको जिन्दगी गज्जबको लाग्दछ ।

ती मानिसहरू र यी मानिसहरूको बारेमा चिन्ता नगर्नुहोस् । आजको दिनलाई तपाईंको जीवनको सबैभन्दा उत्तम दिन बनाउनुहोस् ।

यदि तपाईं सधैँ विगत राम्रो थियो भनेर सोचिरहनु हुन्छ भने, यसको अर्थ हो तपाईं अहिले राम्रो गरिरहनु भएको छैन । हिजोको दिन, सबैभन्दा राम्रो दिन हुनुहुँदैन । आजको दिन, तपाईंको जीवनको सबैभन्दा उत्तम दिन हुनुपर्छ, किनकि तपाईंसँग अर्को एउटा दिनको अनुभव रहेको हुन्छ । त्यसैले के तपाईंले यसलाई सबैभन्दा उत्तम दिन बनाउनु पर्दैन ? आफ्नो जीवनलाई यस्तो बनाउनुहोस् कि तपाईंको जीवनको सबैभन्दा राम्रो दिन ‘आज′ हो ।

यदि आजभन्दा हिजो राम्रो थियो भने, यसको अर्थ हो कि हामीले जीवन बाँचिरहेका छैनौँ, हामीले मृत्युसँग सम्बन्ध गाँसिरहेका छौँ । जे अहिले जीवित छ, त्यसको दाँजोमा मरिसकेको चीज उत्तम हुनु भनेको राम्रो कुरा होइन । हिजो मरिसक्यो । यदि जीवित चीजहरूभन्दा मृत चिजहरू राम्रा छन् भने, यसको अर्थ यो हो कि हामीले आफ्नो जीवनमा खासै केही गरिरहेका छैनौँ ।

ती मानिसहरू र यी मानिसहरूको बारेमा चिन्ता नगर्नुहोस् । आजको दिनलाई तपाईंको जीवनको सबैभन्दा उत्तम दिन बनाउनुहोस् । यदि तपाईं दिनको अन्त्यमा मर्नुभयो भने के गर्नुहुन्छ ? ‘हैन, हैन सद्‌गुरु म आज मर्दिनँ ।’ त्यस्तो कुनै ग्यारेन्टी हुँदैन । तपाईं र म भोलि यहाँ हुनेछौँ भन्ने कुराको कुनै ग्यारेन्टी छ र ? हामी रहन चाहन्छौँ, तर यसको कुनै ग्यारेन्टी हुँदैन ।

अतः के यो अत्यन्तै महत्त्वपूर्ण छैन कि तपाईं आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा राम्रो दिन बनाउनुहोस् ? यदि तपाईंले यसो गर्दै जानुभयो भने, तपाईंले देख्नुहुनेछ कि अर्को पच्चीस वर्षमा मानिसहरूले तपाईंलाई एक महान् व्यक्तिका रूपमा लिनेछन् । हरेक कोही तपाईंको छेउछाउमा रहन चाहनेछन् । पच्चीस वर्षको अनुभवले तपाईंको उत्तम दिन यति विशाल र विराट् हुनेछ कि हरके कसैले त्यसको एउटा अंश पाउन चाहनेछन् । वास्तवमा, यही हुनुपर्ने हो ।

प्रतिक्रिया