मंगलबार, वैशाख १६, २०८२

सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बिमा कोष ४ अर्ब नाघ्यो, बिमा शुल्क पनि शत प्रतिशत बढ्याे

नेपालखोज २०७८ कार्तिक ३० गते १६:०५

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आव २०७८/०७९ को पहिलो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बिमा कोष एक सय ११ दशमलव ४० प्रतिशतले वृद्धि भएर चार अर्ब २४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको जीवन बिमा कोष दुई अर्ब ८२ लाख रहेको थियो । जीवन बिमा कोषको वृद्धिसँगै कम्पनीले आक्रामक रणनीति अवलम्बन गरेकाले व्यवसाय विस्तारमा समेत शतप्रतिशत वृद्धि गर्न सफल भएको छ ।

गत आवको आश्विन मसान्तसम्ममा कुल बिमा शुल्क ६२ करोड आठ लाख रुपैयाँ संकलन गरेकोमा यस आवको सोही अवधिमा एक अर्ब २४ करोड ३२ लाख संकलन गर्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीले जगेडा तथा कोषको आकार पनि ५९ करोड १० लाखबाट करिब ४४ प्रतिशतले बढाएर ८५ करोड तीन लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

यसका साथै कम्पनीले लगानी, बिमा लेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा करिब ५१ प्रतिशतले वृद्धि गरी १६ करोड ५१ लाख रुपैयाँ पुर्‍याएको छ ।

जीवन बिमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम छ अर्ब ८९ करोड मध्ये करिब ७२ दशमलव ४७ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्दती निक्षेपमा लगानी गर्न सफल भएको छ ।

यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

प्रतिक्रिया