सर्वोच्चका न्यायाधीशहरु भन्छन्- प्रधानन्यायाधीशको राजीनामा नै हाम्राे बटम लाइन

नेपालखोज २०७८ कार्तिक ३० गते १७:१०

काठमाडाैं । नेपाल बार एसाेसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच न्यायालयमा देखिएको समस्या समाधानको सम्बन्धमा छलफल भएको छ । बार एसाेसिएसन र न्यायाधीशहरुबीच मंगलबार न्यायालयको समस्या समाधानको विषयमा छलफल भएको हो ।

छलफलका क्रममा न्यायाधीशहरुले सेवाग्राहीलाई परेको असुविधाप्रति चिन्ता जनाउँदै समस्या समाधानको सम्बन्धमा आफूहरु छलफलमा रहेको बताएको नेपाल बार एसाेसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।

बारले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटम लाइन रहेको छलफलका क्रममा राखेको उनले बताए । उनले भने ‘माननीय न्यायाधीशहरु पनि सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति अत्यन्त चिन्तित हुनुहुन्छ । र उहाँहरुपनि ग्रेसफुल इक्जीट के हुन्छ भन्ने कुरामा हामीले पनि खोजिरहेका छौँ । सोचिरहेका छौँ । र छलफल गरिरहेका छौँ भनेर उहाँहरुले हामीलाई बताउनुभयो । हामीले त्यहाँ निकै संवेदनशील ढंगले हाम्रा विषयहरु, हाम्रो बटमलाइन उहाँहरुसँग राखेका छौँ र हामी न्यायपालिकाको समग्र सुधारको विषयमा भएको हुनाले प्रधानन्यायाधीशको राजिनामा हाम्रो बटम लाइन हो भन्ने कुरा पनि हामीले राखेका छौँ ।’

उपाध्यक्ष बस्यालका अनुसार न्यायाधीशहरुले न्यायपालिकाको विकृति र विसंगतिको सम्बन्धमा कुनैपनि सम्झौता नहुने जनाएका छन् । न्यायालय सुधारकै निम्ति आफूहरुले योगदान दिने न्यायाधीशहरुले बताएको उपाध्यक्ष बस्यालको भनाइ छ ।

उनले भने, ‘उहाँहरु सेवाग्राहीलाई सेवाबाट जुन वञ्चित हुनुपरेको छ । यसको बारेमा उहाँ अत्यन्त चिन्तित हुनुहुन्छ । दोस्रो न्यायपालिकाभित्रका विकृति, विसंगतिको बारेमा उहाँहरु हामी पनि कम्परमाइज गर्दैनौँ । जे–जस्तो सुधार हो त्यसको लागि हामी पनि पहल गर्छौ । हाम्रोपनि योगदान रहन्छ भनेर भन्नुभएको छ ।’

नेपाल बार एसाेसिएसनले कार्यसमितिको बैठकबाट आगामी आन्दोलनको कार्यक्रम घोषणा गर्ने उपाध्यक्ष बस्यालले बताए ।

प्रतिक्रिया