‘सर्वोच्च अदालतको गतिरोधको यथाशीघ्र निकास हुनुपर्छ’

नेपालखोज २०७८ कार्तिक ३० गते २०:३०

काठमाडौं । सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको समितिको बैठकले अदालतको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यको महत्वपूर्ण अङ्गका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिइएको छ ।

समितिको बैठकको निर्णय सञ्चारकर्मीलाई जानकारी गराउँदै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अदालतको गतिरोधको सबै पक्षबाट यथाशीघ्र निकास हुने समितिले अपेक्षा गरेको बताए ।

प्रधानमन्त्री एवम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थितिमा समितिका संयोजक कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा पाँच दलीय गठबन्धनका शीर्षनेताको बैठक बसेको हो । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धनमा जोड दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

मन्त्री कार्कीले पाँच दलीय गठबन्धनद्वारा जारी विज्ञप्ति पढेर सुनाउनुहुँदै राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न उपनिर्वाचनमा पाँच दलीय गठबन्धनको सहकार्यलाई अगाडि बढाइने जानकारी दिए ।

राष्ट्रियता, लोकतन्त्रको संवर्द्धन, संविधानको रक्षा र सुशासनको प्रवर्द्धनलाई वर्तमान गठबन्धनले मूल मन्त्र बनाएर अघि बढेको छ । कोभिड–१९ रोकथामलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानलाई युद्धस्तरमा अघि बढाइएको, कोभिडको त्रास र लकडाउन शृङ्खला अन्त्य भएर मुलुक सहज अवस्थातिर फर्किएको तथा कोभिडले थलिएको अर्थतन्त्रले गति लिन लागेको विज्ञप्तिमा उल्लेख छ ।

स्थिर सरकारको निर्माण तथा राजनीतिक स्थिरताको आशासँगै स्वदेशी तथा विदेशी लगानीकर्ता र उद्यमीहरू उत्साहित भएको गठबन्धनको ठहर छ । पाँच दलीय गठबन्धन जनतालाई छिटो र सहजरूपमा सेवा–सुविधा उपलब्ध गराई जनताको विकास र समृद्धिको आकांक्ष पूरा गर्न क्रियाशील रहेको तथा बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट प्रभावित जनतालाई राहत तथा उनीहरुको पुनःस्थापनाका लागि प्रभावकारीरूपमा काम अघि बढाइएको विज्ञप्तिमार्फत् समितिले जानकारी गराएको छ ।

विज्ञप्तिमा प्रधानमन्त्री एवम कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका नेता दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया