बेमौसमी वर्षा : ४ करोड ६३ लाख बढीको बालीमा नोक्सान
१ लाख ७७ हजार १०२ टन धानमा पूर्ण क्षति पुर्याएकाे जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

कैलाली । अविरल वर्षा पछि आएको बाढी पहिरोका कारण कैलालीमा ४ करोड ६३ लाख ३४ हजार ७० रुपैयाँ बराबरको धान तथा अन्नबालीमा नोक्सान भएको छ ।
गत असोज ३० गतेदेखि लगातार चार दिन परेको वर्षा पछि आएको बाढी तथा पहिरोमा परि उक्त धानबालीमा क्षति भएको हो । वर्षाले ३९ हजार ३५६ हेक्टर क्षेत्रफलमा लगाएको अनुमानित १ लाख ७७ हजार १०२ टन धानमा पूर्ण क्षति पुर्याएकाे जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कैलालीमा जम्मा ९१ हजार ४४६ हेक्टर क्षेत्रफलमा खेति गरिएको थियो । वर्षाका कारण २४ हजार २५४ हेक्टर क्षेत्रफलमा लगाएको अनुमानित १ लाख ९ हजार १४३ टन धानमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज अधिकारीले जानकारी दिए ।
वर्षाले जिल्लाका धनगढी उपमहानगरपालिकामा ५ हजार २५० हेक्टर क्षेत्रफल, गोदावरी नगरपालिकामा ४ हजार २०, गौरीगंगा नगरपालिकामा ३ हजार ७९०, घोडाघोडी नगरपालिकामा ४ हजार ६८६, टीकापुर नगरपालिकामा ३ हजार ८३०, भजनी नगरपालिकामा ५ हजार २५०, लम्की चुहा नगरपालिकामा ३ हजार २९८, कैलारी गाउँपालिकामा ३ हजार ९ सय, चुरे गाउँपालिकामा १७३, जानकी गाउँपालिकामा १ हजार ५७४, जोशीपुर गाउँपालिकामा १ हजार ८ सय, बर्दगोरिया गाउँपालिकामा १ हजार ३७०, मोहन्याल गाउँपालिकामा ४१५ गरि कुल ३९ हजार ३५६ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा नोक्सानी भएको हो ।
वर्षाले जिल्लामा सबैभन्दा बढी धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा समान ५ हजार २५० हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा नोक्सानी भएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको कात्तिक २३ गते बसेको बैठकले धानको उत्पादन परिमाण यकिन गर्दा जिल्लाको धानको औषत उत्पादकत्व ४.५ टन हेक्टरलाई आधार मानिएको छ ।
बैठकले प्रत्येक पालिकाको पूर्ण र आंशिक क्षति भएको क्षेत्रफललाई गुणन गरेर निक्र्योल गरि पूर्ण क्षति भएको मूल्यको हकमा हालको प्रचलित बजरा मूल्य मोटा धान २० हजार प्रति टन र आंशिक क्षतिको मूल्य सोहि दरले हुन आउने मूल्यको ५० प्रतिशत अर्थात् १० हजार प्रति टनका दरले हिसाब गरिएको जनाएइको छ ।
त्यस्तै, बेमौसी वर्षाले जिल्लामा कुल २ हजार ४७४ घरमा क्षति भएको छ । जिल्लाका टीकापुर नगरपालिकामा सबैभन्दा बढी १ हजार ८४६ घरमा क्षति भएको छ ।
जसमा २५६ घरमा पूर्ण र १ हजार ५९० घरमा आंशिक क्षति भएको छ । त्यस्तै, जानकी गाउँपालिकामा ४६ घरमा पूर्ण र १०४ घरमा आंशिक गरि कुल १५० घरमा क्षति भएको छ ।
त्यस्तै भजनी नगरपालिकामा २० घरमा पूर्ण र ५७ घरमा आंशिक गरि कुल ९१ घरमा क्षति भएको छ । त्यस्तै चुरे गाउँपालिकामा पाँच घरमा पूर्ण र ६१ घरमा आंशिक गरि कुल ६६ घरमा क्षति भएको छ, भने लम्कीचुहा नगरपालिकामा १ घरमा पूर्ण र १९ घरमा आंशिक गरि कुल २० घरमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सूचना अधिकारी जोशीका अनुसार विपतबाट पीडित भएकाहरुका लागि सुदूरपश्चिम प्रदेश सरकारले २५ लाख दिने भनिएको छ । उक्त रकम प्राप्त भए स्वीकृत मापदण्ड र क्षतिको परिमाणको आधारमा दोहोरो नपर्ने गरी सम्बन्धित स्थानीय तहहरुमार्फत पीडितहरुलाई वितरण गर्ने तयारी गरिएको छ ।
गत असोज ३० गतेदेखि लगातार ४ दिन परेको बेमौसमी वर्षाले देशका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको थियो भने हजारौ घरपरिवार घरबार बिहिन भएका थिए ।
४ दिनसम्म परेको अविरल वर्षाले करिब १ सय बढीको मृत्यु भएको थियो । भने ४२ जना घाइते भएका थिए । बाढी पहिरोमा परी देशभर ३७ जना वेपत्ता भएका छन् ।
बाढीका कारण देशभर २ हजार २ सय ३२ वटा घर डुबानमा परेका थिए । विपतका घटनाबाट देशभर करिब १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएका थिए ।
प्रतिक्रिया