थारू समुदायको पुरानो नाच मेडरी नाच लोप हुँदै

कावासोती । पूर्वी नवलपरासी जिल्ला थारू समुदायको बाहुल्यता रहेको जिल्ला हो । थारू समुदायको आफ्नै मौलिक कला, संस्कृति छन् । ती कला, संस्कृतिको जगेर्ना गर्नका लागि यहाँका थारू समुदायका अगुवाहरूले पहल गर्दै आएका छन् ।
तर पनि थारू समुदायको पुरानो नाच मेडरी नाच लोप हुँदै गएको छ । थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए पनि मेडरी नाचप्रति युवापुस्ताले चासो नदिएको थारू अगुवाहरू बताउँछन् ।
दैवीशक्तिमा आधारित मेडरी नाच विशेषगरी दसैँ, तिहारलगायतका पर्वमा नचाइने गरिन्छ भने अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ ।
पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो । तर आजभोलिका पछिल्ला पुस्ताले चासो नदेखाउँदा मेडरी नाच लोप हुने अवस्थामा पुगेको थारू अगुवाहरूको ठम्याइ छ ।
थारूको जातीय पहिचान स्थापित गर्नमा यो नाचको निकै महत्व छ । तर अहिलेका नयाँ पिँढीले मेडरी नाचको महत्व बिर्सिँदै गएको थारू अगुवा पुष्परत्न महतोले बताए ।
‘पहिले–पहिले मेडरी नाच धेरै नचाइने गरिनथ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिनथ्यो, तर अहिले गाउँघरमा पुराना पुस्ताले नाच नचाउन सकेनन्, नयाँले पुस्ताले चासो देखाउन छाडे’, महतोले भन्नुभयो, ‘अहिले त हराउँदै जान थाल्यो मेडरी नाच ।’
मेडरी नाच कृष्णलीलामा आधारित भवरा नाच, महाभारतमा आधारित महाभारत नाच र रामलीलामा आधारित सीताहरण नाच गरी तीन प्रकारको हुन्छ ।
यस नाचमा कम्तीमा १०० र बढीमा १५० नचनियाहरू गोलाकाररूपमा नाच्ने गर्दछन् । मेडरी नाच्दा मादल, झ्याली, तरबार र लट्ठीको प्रयोग गरिन्छ ।
नाचमा विशेषतः पुरुषहरू सहभागी हुने गर्दछन् । नाच सञ्चालन गर्नका निमित्त जनशक्ति धेरै र खर्चिलो हुने हुँदा सञ्चालन गर्न गाह्रो हुने गरेको महतो बताउन्छन् ।
थारू समुदायको लाठी नाच झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको उनको बुझाइ छ ।
पछिल्लो समय जिल्लामा कुनै विषेश अवसरमा पाकापुस्ताले मेडरी नाच प्रस्तुत गर्ने गरेको उनी बताउछन् । ‘धरै जना चाहिने हुँदा नाच देखाउनै समस्या छ, मान्छे पुर्याउनै गाह्रो छ, खर्च पनि लाग्छ, तर पनि जसोतसो कहिलेकाहीँ देखाउने गरेका छौँ’, महतोले भने । रासस
प्रतिक्रिया