बुधबार, जेठ १, २०८२

कामविहीन प्रदेश स्वास्थ्य तालिम केन्द्र

नेपालखोज २०७८ मंसिर १ गते ८:५६

वीरगञ्ज । प्रदेश नं २ अन्तर्गत सामाजिक विकास मन्त्रालय अन्तर्गत बाराको पथलैयास्थित प्रदेश स्वास्थ्य तालिम केन्द्र पछिल्लोपटक कामविहीनजस्तै बनेको छ ।

विशेषगरी स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्ने उद्देश्यले स्थापित उक्त केन्द्र पछिल्लो एक वर्षयता कोभिड–१९ को असहज स्थितिका कारण भौतिक उपस्थितिमा विविध प्रकारका तालिम हुन नसक्दा केन्द्र कामविहीन बनेको हो ।

कोरोना त्रासका कारण भौतिक उपस्थितिमा हुनुपर्ने विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन हुन सकेन । यद्यपि अब कोभिडको सहज अवस्थासँगै यस्ता तालिमजन्य कार्यक्रमले निरन्तरता पाउने केन्द्रले जनाएको छ ।

११औँ तहको निर्देशक पदलाई केन्द्रको प्रमुख रहने गरी जिम्मेवारी तोकिएको यस केन्द्रमा हाल केन्द्र निर्देशक पद रिक्त छ भने यसबाहेक वरिष्ठ जनस्वास्थ्य प्रशासकसमेत रिक्त छ ।

उक्त केन्द्रको काम आवश्यकतानुसार स्वास्थ्यकर्मीलाई विभिन्न प्रकारका क्षमतामूलक तालिम सञ्चालन गर्नु हो । साविकको मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रका रूपमा स्थापित उक्त कार्यालय पछिल्लो संरचनाअनुसार प्रदेश नं २ अन्तर्गत सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य तालिम केन्द्रका रूपमा रहिआएको छ । रासस

प्रतिक्रिया