सामूहिक बलात्कारपछि हत्या गरेकाे आरोपमा २ जना पक्राउ

जलेश्वर । महोत्तरीको भंगहा नगरपालिका–२ बखरीको ३५ वर्षीया एक महिलालाई सामूहिक बलात्कारपछि मारेको आरोपमा फरार दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोजकुमार यादव र निजका साथी महोत्तरीकै भंगहा नगरपालिका–५ सीतापुर गाउँ बस्ने २४ वर्षीय विपिन मण्डल रहेको प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा बताए ।
गत असोज १३ गते ३५ वर्षीया एक महिलालाई आरोपित दुवैले वनमा लगेर बलात्कार गरेको स्वीकार गरेका छन् । बेहोस अवस्थामा रहेकी ती महिलालाई गाउँकै निजी स्वास्थ्य क्लिनिकमा र दिउँसो अवस्था झन बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुर लगेकोमा उनको उपचारकै क्रममा १४ गते राति मृत्यु भएको थियो ।
मण्डल र अर्का आरोपी यादवलाई बुधबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । दुवैलाई जबरजस्ती करणी तथा हत्या मुद्दामा कारबाही अगाडि बढाइएको छ । रासस
प्रतिक्रिया