कांग्रेस महाधिवेशन : काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

काठमाडाैं । नेपाली कांग्रेस काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो ।
कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिए । ‘सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न गर्न पत्राचारसमेत गरिसकेका छौं, उनले भने ।
यसअघि काठमाडौंका १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् ।
यस्तै काठमाडौंमा यही मंसिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले मंसिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेछ ।

प्रतिक्रिया