‘योगको महत्त्व संसारभर छ’

नेपालखोज २०७८ मंसिर ३ गते १४:५७

प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्व संसारभर रहेको बताएका छन् । शुक्रबार रामदेव पतञ्जली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्व संसारभर रहेको बताएका हुन् ।

उनले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको बताए । प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरुको नाम उचाइमा लिन र नेपाललाई विश्वसामु चिनाउनका लागि आएका बताएका छन् । प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘आज संसारमा योगा स्वास्थ्यका लागि सबैभन्दा उत्तम स्वस्थ रहनका लागि बाबा रामदेवलाई सबैले सम्झिन्छन्, आयुर्वेद सबैभन्दा उचित, सबैले मानिसके, साइड इफेक्ट नभएको एउटा मात्रै आयुर्वेद औषधि छ, साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ, नेपालमै आयुर्वेदिक औषधिहरु बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ ।’

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले योगगुरु रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान भएको बताए । योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावदी र रुढीवादी जस्तो लागेपनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए ।

अध्यक्ष दाहालले बाबा रामदेव र आचार्य बालकृष्णसँगको कुराकानीमा नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा क्रान्ति ल्याउने विषयमा छलफल भएको बताउँदै अब कार्यक्रम गर्ने बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताए । उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने बताए । उनले पहिला आफू धेरै यज्ञ, महायज्ञमा जाँदा पलेँटी कसेर बस्न नसकेको पछि योगाभ्यासले नै सहज बनाएको बताए ।

अध्यक्ष नेपालले नेपालमा प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय र होमियोपेथिक पद्धतिलाई बिस्तार र प्रयोग गर्नुपर्ने बताए । हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक, सांस्कृतिक, आध्यात्मिक र धार्मिक सहिष्णुतालाई दिगो बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ । योगपीठले आजै स्वदेशी समृद्धि कार्डको पनि प्रारम्भ गरेको छ ।

प्रतिक्रिया