नेपालमा वायु प्रदूषण बढ्दै, आमनागरिकलाई सचेत रहन आग्रह

काठमाडौं । विज्ञहरुले नेपालमा वायु प्रदूषण बढ्दै गएको भन्दै आम नागरिकहरुलाई सचेत रहन आग्रह गरेका छन् । जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा वायु प्रदूषण बढ्दै गएकाले त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् ।
बंगालको खाडी र पश्चिम अरेबियन सागरमा उत्पन्न भएको एक किसिमको जलवायु प्रणालीका कारण भारतका केही शहरहरुमा भिषण वर्षा हुने र त्यसको असर नेपालमा पनि देखिने बताए । डा. उप्रेतीले बुधवार बेलुकादेखि नै काठमाडौंलगायत देशभरका केही शहरहरुमा वायुको गुणस्तर कम भएको बताए । उनले दक्षिण भारतमा २ सय १५ मिलिमिटर भन्दा बढी वर्षा हुने सम्भावना रहेको र भारतमा देखिएको प्रदूषण उत्तरतर्फ सर्दा नेपालमा असर पर्ने बताए ।
डा. उप्रेतीले नेपालमा वर्षा नभए पनि उच्च हिमाली क्षेत्रमा हिमपात र बाक्लो कुहिरो लाग्ने तथा तराईमा शितलहर देखापर्ने बताए । उनले भारतका केही शहरमा प्रदूषणको मात्रा खतराको तहभन्दा माथि रहेको र हावाको दिशा उत्तरतर्फ सरेमा काठमाडौं पनि प्रभावित हुने बताए । डा. उप्रेतीले विराटनगर, धनगढी, महेन्द्रनगरलगायत स्थानमा वायु प्रदुषणको स्तर बिग्रिँदै गएको बताए ।
डा. उप्रेतीले वायु प्रदूषण कम गर्न धुलोलाई घटाउने गरी नगरपालिकाहरुले पानी छर्कने, उद्योगधन्दा केही दिनका लागि बन्द गर्ने र सवारीसाधन बन्द गर्ने लगायतका काम बेलैमा गर्नुपर्ने बताए । उनले वायु प्रदूषण बढ्दै गएमा देशव्यापी लकडाउन गर्नुपर्ने बताए । डा. उप्रेतीले वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनेदेखि विभिन्न रोगहरु निम्त्याउन सक्ने बताए ।
प्रतिक्रिया