‘हस्तकलाको व्यापारसँग सम्बन्धित करको समस्या समाधान हुन्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित नेपाल हस्तकला महासंघको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारको लागि करको समस्या समाधान गर्न सहजिकरण गर्ने बताए ।
उनले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताए । प्रधानमन्त्री देउवाले हस्ताकलाको मौलिक सिप नयाँ पुस्तामा हस्तान्तरणका लागि तालिम दिनुपर्ने आवश्यकता रहेको बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली पहिचान र संस्कृति झल्कने हस्तकला विदेशमा निर्यात गरी विदेशमा समेत नेपाली चिनारीको प्रचार भएको बताए ।
मन्त्री आलेले वार्षिक ६ अर्ब रुपैयाँ बराबरको मुल्यका हस्तकला विश्वका ८० देशमा निर्यात भएको बताए । आन्तरिक बजारमा २ अर्ब रुपैयाँ बराबरको कारोबार गरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब ७ लाखको संख्यामा रोजगारी सिर्जना भएको उनले जानकारी दिए । १८औँ हस्तकला व्यापार मेला आगामी ५ गते सम्म चल्नेछ ।

प्रतिक्रिया