कोभिडविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराएकामा अमेरिकालाई धन्यवाद´

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्याएको सहयोग लगायतका विषयमा छलफल भएको थियो । भेटमा सहायक विदेशमन्त्री ‘लु’ र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी रहेका थिए ।

त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।
भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए । उनले अमेरिकी सरकारले कोभिड पश्चात अर्थतन्त्रको पुनरोत्थानमा पनि सहयोग प्राप्तहुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका लागि सहायक विदेश मन्त्री ‘लु’ लाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया