शुक्रबार, चैत १६, २०८०

कवि एवं गीतकार दिनेश अधिकारीको एल्बमबाट

दिनेश अधिकारी २०७८ मंसिर ४ गते १३:३२

चालीसको दशकको उत्तरार्धदेखि नेपाली गायनको क्षेत्रमा प्रवेश गरेका र २०५० को दशकमा अत्यन्तै रुचाइएका गायक हुन् – कुमार कान्छा। २८ मंसिर २०१४ सालमा कोलकाता, भारतमा जन्मिएका कान्छाको निधन भने ३ माघ, २०६७ सालमा भारतको मुम्बईमा भएको हो । २०५० को दशकमा उनी बराबरैजसो काठमाडौं र मुम्बई बस्थे। “प्रित बिना यौवन अफाप नै भयो…( संगीत: अनिल शाही) र ” मैले खोजेको साँहिली तिमीलाई …( संगीत: सुनिल मास्के ) जस्ता आधुनिक गीतबाट लोकप्रियता हासिल गर्न थालेका कुमार कान्छालाई चलचित्रका लागि उनले गाएका गीतहरु- जिन्दगीको के छ र भर…, आमैले भन्थिन धाराको पानी…, बतासले उडाई लग्यो माया मेरो…, सडक जिन्दगी हो, सडक हो नियती…बोलका गीतहरुले लोकप्रियताको अर्को उचाई दियो । आधुनिक र चलचित्रका गीतहरु बाहेक उनको स्वरमा केही भजनहरु पनि रेकर्ड भएका छन्।

हिन्दी चलचित्र “पिया का गावँ” का लागि गाएको गीतबाट भारतमै पनि राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेका कान्छाले नेपाली कथानक चलचित्र “लाहुरे” र ” कोसेली” मा अभिनय गरेको सम्झना पनि मलाई छ।

“गोरेटो ” र ” दोबाटो ” उनका प्रकाशित गीति-एल्बम हुन भने आलोकश्रीको संगीतमा उनले तेस्रो एल्बमका लागि आफ्नो जीवनको अन्तिम दिनहरुमा १० वटा गीतहरु रेकर्ड गराएका छन् । प्रकाशनमा आउन बाँकी रहेको ” साइनो ” शीर्षकको यो एल्बम संगीतकार आलोकश्रीसंग सुरक्षित रहेको जानकारी पनि मलाई आलोकजीबाटै प्राप्त भएको छ। विश्वास छ, आलोकजीले यसलाई निकट भविष्यमै प्रकाशनमा ल्याउनु हुनेछ।

मेरो शब्द – रचनाका ९ वटा गीतहरु विभिन्न ६ वटा चलचित्रका लागि कुमार कान्छाले गाएका छन। ती हुन- तिमीलाई देखेपछि …(भिडियो चलचित्र: प्रतिशोध, संगीत: शीलाबहादुर मोक्तान ), सडक जिन्दगी हो, सडक हो नियति…र एउटा केटो चाहिएको छ…( चलचित्र: सडक, संगीतकार : प्रकाश गुरुङ), यो बाटो, त्यो बाटो जिन्दगी हो दोबाटो… र सुन- चाँदी के हो र जान्छ खिएर…( चलचित्र: अपराध, संगीत: रनजीत गजमेर), माने, नमाने पनि यही त हो जिन्दगानी…( चलचित्र: चेली, संगीतकार: अनिल शाही), तिमी चाहमा छ्यौ मसंग बसेकी…( चलचित्र: परिभाषा, संगीतकार: न्ह्युँ बज्राचार्य ), मिलिजुली यस्तै खुसी…र मेरो जिन्दगीको यो कस्तो नियति…( चलचित्र : धर्म, संगीतकार: सचिन सिंह)। यी मध्ये चलचित्रहरु सडक, अपराध र धर्ममा प्रयुक्त ४ वटा युगल गीत चाँही उनले साधना सरगम र कविता कृष्णमूर्तिका साथमा गाएका हुन्।

कुमार कान्छासंग मेरो चिनाजानी गायक र गीतकारकै हैशियतमा भएको भए पनि पछि गएर हाम्रो सम्बन्ध एक किसिमले पारिवारिक हुन पुग्यो। कान्छा बी-बीचमा मेरो घरमा पनि आइरहन्थे। यो तस्बिर यही क्रममा २०५१ साल मंसिरको कुनै दिन म कहाँ आउँदा बत्तीसपुतली, काठमाडौं स्थित मेरो घर- कोठामा खिचिएको हो। तस्वीरमा वायाँबाट क्रमश: गायक जीवन श्रेष्ठ, कुमार कान्छा र म दिनेश अधिकारी देखिएका छौं।

कुमार ! तिमीलाई छैनौ कसरी भन्नु ? तिमी, सबैको मनभरि छौ । मेरो त आँखाभरि पनि !

प्रतिक्रिया