आइतबार, वैशाख १६, २०८१

डीआईजी केसीको ‘सम्बन्धको दोबाटो’ सार्वजनिक

नेपालखोज २०८० पुष १५ गते १३:३०

काठमाडौं । प्रहरी नायब महानिरीक्षक डीआईजी एवम कथाकार रवीन्द्र केसीको कथाकृति ‘सम्बन्धको दोबाटो’ सार्वजनिक भएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर लगायतले कथाकृति बिमोचन गरे ।

कृति सार्वजनिक गर्दै महानिरीक्षक कुँवरले प्रहरीमा सेवारत थुप्रै सहकर्मीहरूले साहित्यमा ख्याति कमाएको स्मरण गर्दै सहकर्र्मीहरूबाट यसरी कृति आउनु खुसीको विषय भएको बताए ।

राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवद्र्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको उनको भनाइ थियो ।

प्रहरी सेवा र साहित्य रबाना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने टिप्पणी उनले गरेका थिए ।

नागरिक सेवामा खटिँदा देखेरभोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपुर सुगन्ध पस्केको उनले बताए । यस्तै डा. ध्रुवचन्द्र गौतम र हरि अधिकारीले समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी प्रहरी सेवाका साथै साहित्यमा समेत सफल रहेको धारणा राखे ।

कथाकार केसीले जीवनका विविध आयामहरू आफ्ना कथाहरूमा समेटिएको उल्लेख गरे । कार्यक्रममा ज्ञानु अधिकारी, राजकुमार बानियाँलगायतले पनि बोलेका थिए । शिखा बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ४६५ रूपैयाँ रहेको छ ।

प्रतिक्रिया