बुधबार, जेठ १, २०८२

नेपाल–युरोपेली संघ संयुक्त आयोगको बैठक बुधबार काठमाडौंमा हुने

नेपालखोज २०७८ मंसिर ४ गते १९:५४

काठमाडौं । नेपाल–युरोपेली संघ संयृुक्त आयोगको तेह्रौँ बैठक यही मङ्सिर ८ गते बुधबार काठमाडौंमा हुने भएको छ । बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी आज काठमाडौं आइपुगेका छन् ।

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली संघबीचको सम्बन्धका सबै पक्षमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले राससलाई बताए ।

बैठकमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा छलफल हुनेछ । युरोपेली संघले नेपाललाई व्यापार तथा लगानी, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्ने छन् । नेपाली विमान सेवालाई युरोपेली मुलुकको आकाशमा उड्न माथि लगाइएको प्रतिबन्ध चाँडोभन्दा चाँडो हटाउन नेपाली पक्षले बैठकमा उच्च प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ ।

नेपाल सरकारले नागरिक उड्डयन क्षेत्रको सुरक्षाका निम्ति नयाँ नागरिक उड्डयन विधेयक संसद्मा प्रस्तुत गरेको सन्दर्भमा हवाई सुरक्षाप्रतिको नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युरोपेली संघले उडान प्रतिबन्ध हटाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया