५६ जनाले गरे रक्तदान

काठमाडौं । लाखेआजु जात्रा व्यवस्थापन समाज र नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २० वडा नगर समितिले चिकंमु त्वा:मा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । विश्व महामारीका रूपमा फैलिरहेको कोभिड-१९ ले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभाव न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर रक्तदान गर्न/गराउन गरिएको आह्वानअनुसार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ५६ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको पनि सहभागिता थियो । ‘अठार वर्ष पैतालीस किलो,रक्तदान गर्न नगरौं ढिलो’ र ‘न बन्छ यो कारखानामा, न बग्छ यो खोलानालामा’ भन्ने सन्देशसहित शनिबार रक्तदान गरिएको समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले जानकारी दिए ।
‘पीडितलाई राहत स्वरूप रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई आत्मसात् गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको लाखे आजु जात्रा व्यवस्थापन समाजका अध्यक्ष लक्षमण रञ्जितले बताए । समाजको काठमाडौं महानगरपालिका २० वडा नगर समितिका अध्यक्ष राम रञ्जितले कार्यक्रमको संयोजन गरेका थिए । कार्यक्रममा रेडक्रस सोसाइटी, स्वास्थ्य सेवा विभागकी निर्देशक डा. मनिता राजकर्णिकार र महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले रक्तदाताहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया