‘अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पालिरहन्छन्’

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार कटौती नभएसम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने बताएका छन् ।
नेपाल बार एसोसिएसनले आइतबार सर्वोच्च अदालतमा दिएको धर्नामा अध्यक्ष श्रेष्ठले न्याय प्रशासनको जिम्मा प्रधानन्यायाधीशले लिएसम्म विचौलिया पाल्ने काम नरोकिने बताएका हुन् ।
न्याय परिषद्बाट न्यायाधीशहरुलाई सरुवा काजमा पठाउने अधिकार अझै पनि प्रधानन्यायाधीशले लिइराखेको र सोही अधिकारमार्फत आफूअनुकूलको काम गर्न सक्ने उनको भनाइ छ । गोलाप्रथा लागु हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा नपर्न पनि उनले आग्रह गरे ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट चोलेन्द्रशमशेर जबरा नहटेसम्म आन्दोलन जारी रहने पनि बताएका छन् । उनले आगामी दिनमा प्रधानन्यायाधीश जबराको विरुद्धमा राजनीतिक दल र संसद्मा पनि जाने भन्दै जानुअघि नै राजीनामा दिन चेतावनी दिएका छन् ।
प्रतिक्रिया