बुधबार, जेठ १, २०८२

प्रदेश २ का नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नेपालखोज २०७८ मंसिर ५ गते १४:५२

महाेत्तरी। प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले शपथ लिएका छन् ।

आईतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक विशेष समारोहका बीच प्रदेश प्रमुख हरिशंकर मिश्रले नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बन्न सफल भएका मन्त्रीद्धय महतो र यादवलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

शपथ ग्रहणपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री महतोले विनाशको अवस्थामा रहेको चुरे संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले प्रदेश २ को नामाकरण र भ्रष्टाचार नियन्त्रणको कामलाई पनि आफूले जोड दिने बताए ।

त्यसैगरि नवनयिुक्त मन्त्री यादवले प्रदेश र संघीयतालाई संस्थागत विकासको लागि कानुन निर्माणको काममा तीव्रता दिने बताए । मुख्यमन्त्री राउतले एकीकृत समाजवादीलाई सरकारमा ल्याउन आफ्नै पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई मात्र पदमुक्त गरेका थिए । एकीकृत समाजवादीलाई उद्योग, पर्यटन, वन तथा वातावरणसहित मुख्यमन्त्री राउतले आफ्नो मातहतमा राखेको कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय दिएका हुन् ।

मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय आफ्नै मातहतमा राखेका थिए । तत्कालीन राजपाबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई हटाएपछि राउतले प्रदेशका ६ मन्त्रालयलाई टुक्र्याएर १० मन्त्रालय बनाउनु भएको थियो । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सांसदहरु, सुरक्षा निकायका प्रमुखहरुसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया