बिहीबार, जेठ २, २०८२

राष्ट्रपति भण्डारीबाट जलेश्वरनाथ महादेव मन्दिरमा पूजा

नेपालखोज २०७८ मंसिर ६ गते १६:२०

महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजा अर्चना गरेकी छन् ।

आज राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि यहाँ आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी थिइन् ।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ । यहाँ चौबीसै घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरी नै जलमै विराजमान रहन्छन् भनिन्छ । त्यस अवसरमा राष्ट्रपति भण्डारीले उक्त मन्दिरका मुल पूजारी उपेन्द्र पाठकका हातबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन् ।

यहाँ महादेवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिट मुनि जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्र सम्भव हुने गर्दछ ।

राष्ट्रपति भण्डारी पूजाअर्चनाका लागि यहाँ आउँदा जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्र, सो मन्दिरका मूल पुजारी र पदाधिकारी तथा स्थानीयले स्वागत गरेका थिए । रासस

प्रतिक्रिया