तीन दिनमा सात अर्बले घट्यो निक्षेप

नेपालखोज २०७८ मंसिर ६ गते २१:२०

काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ । गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रूपैयाँ रहेको निक्षेप यही मंसिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्ब रूपैयाँमा झरेको छ ।

गत कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रूपैयाँ बराबरको ऋण लगानी भएकामा मंसिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर रु ४० खर्ब ४१ अर्ब बराबर पुगेको छ ।

यस आधारमा तीन दिनमा नै निक्षेप सात अर्ब रूपयाँले घटेको देखिन्छ भने सात अर्ब रूपैयाँले नै कर्जा लगानी भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ ।

सङ्घले लगातार निक्षेप र कर्जाको अवस्थाका बारेमा जानकारी गराउँदै आएको छ । गत साउन मसान्तमा वाणिज्य बैंकमा रु ४१ खर्ब २३ अर्ब निक्षेप थियो ।

त्यसबेला रु ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म रु ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी भएको थियो ।

असोज मसान्तसम्म रु ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब रूपैयाँ बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।

नेपाल बैंकर्स सङ्घका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको छ । सोही अवधिमा कर्जा रु ३६ अर्बले बढेको छ । सङ्घका अनुसार पछिल्लो तीन दिनको विवरण हेर्दा निक्षेप सात अर्ब रूपैयाँले घट्दा कर्जा लगानी सात अर्बले बढेको छ ।

पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मक रुपमा वृद्धि नभएका कारणले गर्दा निक्षेपमा चाप परेको संघले जनाएको छ ।

प्रतिक्रिया