काठमाडौं महानगरपालिकाद्वारा ४ नाकाबाट कोरोनाविरुद्धको खोप

काठमाडाैं । काठमाडौं महानगरपालिकाले चार नाका कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोगंबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरेको छ ।
कामपा स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कंलकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोगंबुमा आगामी एक महिनासम्म कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यही मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम आगामी पुस ५ गतेसम्म चल्ने कामपाले जानकारी गराएको छ ।
काठमाडौं प्रवेश गर्ने १८ वर्ष उमेर पुरा भएका सबै नागरिकलाई उमेर खुलेको प्रमाण आधारमा खोप दिइने पनि कामपाले जनाएको छ । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको स्वास्थ्य सुरक्षामा आफू सधैं जिम्मेवार रहेको बताए ।
कोरोनाको दोस्रो लहरको समयमा पनि कामपाले काठमाडौं उपत्यकाको सरकारी र सामुदायिक गरी १२ अस्पताललाई कोभिडविरुद्ध उपचार गर्नका लागि विभिन्न औजार, उपकरण, सामग्री तथा स्रोत परिचालनमा सहयोग गरेको कार्यक्रममा प्रमुख शाक्यले स्मरण गराए ।
कामपा स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले निर्धारण गरिएको चारवटै खोप केन्द्रबाट केन्द्रबाट भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनिका खोप उपलब्ध हुने जानकारी दिए ।
यससँगै महानगरका ३२ वटै वडामा यसअघि तोकिएको खोप केन्द्रबाट मंसिर ७ र ८ गते कोभिडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुनेछ ।
यसमा १८ वर्ष उमेर समूहमाथिका र यसअघि खोप लगाउन छुटेका सबै नागरिक, पहिलो मात्रा लगाएर आठ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यहाँ भेरोसेल, कोभिसिल्ड/एस्ट्राजेनिका खोप उपलब्ध हुनेछन् ।
प्रतिक्रिया