शनिबार, फागुन १९, २०८०

नेपाल बारले अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने

नेपालखोज २०७८ मंसिर ७ गते १३:२९

काठमाडाैं । नेपाल बार एसाेसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ । मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार (९) गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो ।

धर्नामा बोल्दै नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले मार्चपासमा नागरिक समाजका सदस्यहरु समेत संलग्न रहने जानकारी दिए । उनले प्रधानन्यायाधीश जबरा बालुवाटारका कारण लुकेर न्यायालय आउने गरेको भन्दै अब सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको स्पष्ट पारे । अध्यक्ष श्रेष्ठले बुधबार (भोलि) देशभरका १८ वटा उच्च अदालतमा धर्ना कार्यक्रम आयोजना गर्ने पनि बताए ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले अदालत परिसर भित्र न्यायपरिषद्माथि लाठी प्रहार गर्नु न्यायपालिकाको न्याय मर्नु रहेको बताए । उनले एउटा वकीलले आफ्नो अभिव्यक्ति र विचार राख्न पाउने स्वतन्त्र अधिकार रहेको बताउँदै सुरक्षाको नाममा लाठी प्रहार गर्नु न्याय मार्नु सरह भएको बताए ।

वरिष्ठ अधिवक्ता ज्ञवालीले नेपाल बारलाई बिहीबारबाट कालोपट्टी बाँधेर एक घण्टा नबोली धर्ना दिने कार्यक्रम राख्न आग्रह गरेको पनि बताए ।

प्रतिक्रिया