बिहीबार, वैशाख १३, २०८१

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकैदिन ४५ हजार संक्रमित थपिए

नेपालखोज २०७८ मंसिर ७ गते १३:५१

लन्डन । बेलायतमा सोमबार कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना संक्रमित भएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो चाैबीस घण्टामा कोरोना भाइरसबाट यहाँका ४४ हजार ९१७ जना संक्रमित भएका छन् ।

उनीहरुक अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेकोे छ । अघिल्ला दिनहरुमा ४० हजारको हाराहारीमा यी संक्रमित भेटिएको थियो ।

तर सोमबार भने यसमा बृद्धि भएको हो । योसमेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या करिब ९९ लाख पुगेको छ । बेलायतमा सोमबार मात्र ४५ जना यो संक्रमणबाट मृत्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण करिब एक लाख ४४ हजार जनाको मृत्यु भएको छ ।

बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये आठ हजार जनाभन्दा बढी अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । यहाँका १६ वर्षमाथिका झन्डै ९३ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । त्यसैगरी करिब ८७ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्यांकमा उल्लेख छ ।

तर पनि पछिल्ला केही दिनमा यहाँ संक्रमण झन् बढेको पाइएको सरकारी अधिकारीहरूले बताएका छन् । सरकारी प्रयासका बाबजुत यहाँ संक्रमित हुनेको दरमा कमी नआएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया