१० हजार नर्स रोजगारीका लागी बेलायत पठाउने सरकारको तयारी

नेपालखोज २०७८ मंसिर ७ गते २०:०९

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन् । मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन् ।

उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएका बताए । समितिको बैठकमा सांसदहरुले भने विचौलीयाका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु ठगीने गरेको भन्दै विचौलीया नियन्त्रण गर्न कठोर कदम चाल्न मन्त्री श्रेष्ठलाई सुझाव दिएका छन् ।

त्यस्तै, वैदेशिक रोजगारमा जाने कामदारका लागि व्यवस्था गरिएको फ्री भिसा फ्री टिकट कार्यानवयन नै नभएको भन्दै गृनासो समेत गरेका छन् । सांसदहरुले निर्णय भएको लामो समय बित्दा पनि कामदारले म्यानपावर व्यवसायीहरुलाई मोटो रकम बुझाउनुपर्ने अवस्था विद्यमान रहेको पनि बताएका छन् ।

त्यस्तै, श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागी नेपाली नर्स पठाउने भएको बताएका छन् । सचिव गौतमले बेलायत सरकारको मागअनुसार नेपाल सरकारले १० हजार नर्स रोजगारीका लागी पठाउने भएको बताए । उनले जीटुजी सम्झौतामाफत् नेपालबाट रोजगारीका लागि नर्स लैजाने विषयमा बेलायतसँग सम्झौताको तयारी भइरहेको बताए । उनले कोभिडपछि बेलायतमा करिब एक लाख नर्सको माग भएकामा फिलिपिन्स, भारत र नेपालबाट नसिङ क्षेत्रमा आवद्ध भएका कामदार लाने तयारी भएको बताए ।

सचिव गौतमले बेलायत सरकारले आउँदो डिसेम्बरभित्रै नेपाली नर्स रोजगारीका लागि लाने प्रतिवद्धता जनाएको बताए । त्यसका लागि परराष्ष्ट्र मन्त्रालयमाफत् आग्रह पत्र प्राप्त भएसँगै मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा सात सदस्य वार्ता टोलीसमेत गठन भइसेको बताए ।

उनले वार्ता टोलीले एक चरणको छलफलसमेत सम्पन्न गरि सकेको बताएका छन् । सचिव गौतमले मन्त्रीपरिषद्ले निर्देशन पारित गरेमा नेपालबाट विदेशमा रोजागारीको लागि माग भएका कामदार पठाउनु सहज हुने बताए ।

प्रतिक्रिया