‘बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पत्रकारले उठाएको अनुसन्धानले आर्थिक क्षेत्रमा ठूलो योगदान र महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । आर्थिक पत्रकारले लेखेको लेख तथा रिपोर्टिङले अर्थ क्षेत्रमा नयाँ आयाम थप्ने र आर्थिक क्षेत्रको पुनरुत्थानका लागि सहयोग पुग्ने उनको भनाइ छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजधानीमा आज (बुधबार) गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक निजी साझेदारी विषयक अन्तरक्रिया तथा नाफिज जर्नल अर्थचित्रको विमोचन कार्यक्रममा अर्थमन्त्री शर्माले बजेट र बजेट प्रणाली समस्यामा रहेको बताए । उनले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।
उनले राजनीतिक नेतृत्वमा व्यवस्थापकीय क्षमताको अभाव खड्किएका कारण विकास निर्माणको नतिजा अपेक्षित हुन नसकेको पनि बताए । स्रोतको उचित व्यवस्थापन गर्न नसक्दा बजेट प्रणाली नै समस्यामा परेको उनको भनाइ छ । राजस्वले चालु खर्च धान्न मुस्किल परिरहेको बताएका उनले कोभिडपछिको आर्थिक पुनरूत्थानमा निजी क्षेत्रका सहुलियतका अपेक्षाहरु पूरा हुन नसकेको पनि बताए । यसका लागि प्रयास जारी रहेको बताउँदै मन्त्री शर्माले आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको बताए । ठूला पूर्वाधार निर्माणमा सरकारसँग मिलेर अघि बढ्न पनि मन्त्री शर्माले निजी क्षेत्रलाई आग्रह गरे ।
साधन, स्रोत, पुँजी र बजारको अभाव नभएको अवस्थामा व्यवस्थापकीय समस्याका कारण आर्थिक क्रियाकलाप र विकासका काम प्रभावकारी हुन नसकेको उनले बताए । सरकारले निजी क्षेत्रबाट व्यवस्थापकीय ज्ञान सिक्नुपर्ने बताएका मन्त्री शर्माले पूर्वाधार विकासका काममा पनि हातेमालो गर्न निजी क्षेत्रलाई आग्रह गरे ।
कार्यक्रममा आर्थिक पत्रकारिताको क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै नाफिजले आर्थिक अभियान राष्ट्रिय दैनिकका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मानसमेत गरेको थियो ।

प्रतिक्रिया