राष्ट्र बैक भन्छ- उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक सुधार आउँदै छ

नेपालखोज २०७८ मंसिर ८ गते २१:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड-१९) ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बुधबार कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्तिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनको नतिजाअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ । आफै पनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भएता पनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ, प्रतिवेदनमा भनिएको छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पुनरुत्थान उन्मुख रहेको छ । यस परिप्रेक्षमा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्थामा सुधार आइ अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । २०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ ।

कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा चार दशमलव एक प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७ दशमलव दुई प्रतिशत पुगेको देखिएको छ । गत वैशाखमा गरिएको सर्वेक्षणमा चार दशमलव दुई प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा दुई दशमलव तीन प्रतिशत उद्योग/व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४ दशमलव सात प्रतिशत पुगेको छ । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको तर, होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायको आकारअनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्था भने अझै उत्पादन/कारोबार पुगिसकेको देखिदैन् । २०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७ दशमलव पाँच प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७ दशमलव दुई प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ ।

उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३ दशमलव चार प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६ दशमलव एक प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानीलगायत क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया