शनिबार, वैशाख १५, २०८१

मार्गशीर्ष मासको अमावस्यामा सूर्यग्रहण, कहाँ-कहाँबाट देखिनेछ ?

नेपालखोज २०७८ मंसिर ९ गते ६:५५

काठमाडौं । यही मङ्सिर १८ गते शनिबार (डिसेम्बर ४) का दिन सूर्यग्रहण लाग्दै छ । पञ्चाङअनुसार यो सूर्य ग्रहण मार्गशीर्ष मासको अमावस्याका दिन लाग्न गइरहेको छ । यो ग्रहण वृश्चिक राशि तथा ज्येष्ठा नक्षत्रमा लाग्नेछ । यो अंग्रेजी वर्ष २०२१ को अन्तिम ग्रहण हो । यो सूर्यग्रहण अन्टार्कटिका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, दक्षिण अमेरिका तथा एटलान्टिकको दक्षिणी भागबाट मात्र देखिनेछ । यो ग्रहण नेपालमा नदेखिने हुँदा यसको सुतक बारिरहनु पर्दैन ।

सूर्यग्रहणको समय

२०२१ को पहिलो सूर्यग्रहण जेठ २७ गते बिहीबार (१० जुन ) मा लागेको थियो । मंसिर १८ गते शनिबार लाग्ने यो सूर्य ग्रहण अंग्रेजी वर्ष २०२१ को दोस्रो सूर्यग्रहण हो ।

यो ग्रहण नेपाली समयअनुसार बिहान ११:१५ मा प्रारम्भ भएर दिउँसो ३:२२ बजे समाप्त हुनेछ ।

नेपालमा यो ग्रहण नदेखिने हुँदा यसका लागि केही गरिरहनु पर्दैन ।

यस पटक पश्चिम अन्टार्कटिकाको पूर्वदेखि पश्चिमसम्म पूर्ण सूर्यग्रहण देखिनेछ भने उत्तरी अमेरिका, युरोप तथा एशियाको उत्तरी भागमा आंशिक सूर्यग्रहण देखिनेछ ।

हिन्दु मान्यताअनुसार यो सूर्यग्रहणको प्रभाव खासगरि वृश्चिक राशि तथा अनुराधा र ज्येष्ठा नक्षत्रमा सबैभन्दा बढी पर्नेछ ।

यो सूर्यग्रहणको समयमा सूर्य र चन्द्रमा दुवै वृश्चिक राशिमा रहनेछन ।

सूर्य ग्रहणमा ध्यान दिनुपर्ने कुरा

गर्भवती महिलाहरुले ग्रहण हेर्नबाट जोगिनुपर्छ ।

ग्रहणको समयमा मनमनै आफ्ना इष्ट देवको आराधना गर्न सकिन्छ ।

सूर्यग्रहणका समयमा “ॐ आदित्याय विदमहे दिवाकराय धीमहि तन्नो : सूर्य: प्रचोदयात।” मन्त्र जप्नु फलदायी मानिन्छ ।

ग्रहण लाग्नु पहिले खाने-पीउने सामानमा तुलसीको पात राखेर छोपिदिने चलन पनि छ ।

ग्रहणको समयमा खाना पकाउनु तथा खानु हानिकारक मानिन्छ ।

ग्रहणकालमा भगवानको मुर्ति स्पर्श पनि गरिदैन ।

शास्त्रमा ग्रहण कालमा नसुत्नु पनि भनिएको छ ।

सूर्य ग्रहण कति प्रकारका हुन्छन् ?
पूर्ण सूर्य ग्रहण, आंशिक सूर्य ग्रहण र वलयाकार सूर्य ग्रहण गरी तीन प्रकारका सूर्य ग्रहण हुन्छन् । यो ग्रहण पृथ्वी र सूर्यका बीच चन्द्रमा आएका कारणले लाग्छ ।

प्रतिक्रिया