बिहीबार, वैशाख १३, २०८१

न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्रीलाई आग्रह

नेपालखोज २०७८ मंसिर ९ गते १८:३२

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । बिहीवार नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले गरेको ‘बालुवाटार न्याय मार्च’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा न्यायालयमा देखिएको समस्याबाट पन्छिन नमिल्ने बताए ।

उनले प्रधानमन्त्री देउवालाई संवैधानिक दायित्व निर्वाह गर्न पनि आग्रह गरे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संरक्षण गर्न खोजिए जनतामाथि अन्याय हुने भन्दै उनले संवैधानिक सर्वोच्चता कायम राख्नका लागि कदम चाल्न माग गरे ।

त्यस्तै वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीश जबराले न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको बताए । आफुहरु स्वार्थको लागि लडाइँ नलडेको भन्दै उनले जनतालाई स्वतन्त्र र निर्भिक रुपमा न्याय प्राप्त गराउने उद्देश्यले आन्दोलनमा उत्रिएको उनले बताए ।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध भनि निरन्तर आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनको नेतृत्वमा बिहीवार सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरिएको हो । न्याय मार्चमा नेपाल पत्रकार महासंघ, बृहत नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, आदिवासी, जनजाति महासंघ, नेपाल इञ्जीनियर्स एसोसिएसन लगायतको सहभागिता रहेको थियो ।

मार्चपासमा न्यायालय कि अन्यायालय, संसद खोल चोलेन्द्रलाई महाअभियोग लगाउ, न्याय किनबेच बन्द गर, के संसदको काम सुतिरहने हो, निःशुल्क न्या जनताको अधिकार न्यायालय चाहान्छ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

मार्चपासमा स्वतन्त्र न्यायपालिका कायम गर, विधिको शासन कायम गर, सम्पूर्ण पेशाकर्मी एक हौँ, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भनि नाराबाजीसमेत गरिएको थियो । त्यसैगरी न्यायालयमा विकृति, विसंगति भएको विषयलाई समेट्दै संक्षिप्त चेतनामुलक सडक नाटक पनि प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया