स्थानीय वायुको प्रभाव, मौसम सफा हुन अझै केही दिन लाग्ने
‘प्रदेश १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना’

काठमाडाैं । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ । स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताइन् । ‘अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन,’ मौसमविद् बासीले भनिन् ।
मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ । हाल प्रदेश १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा छ ।
दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यत: सफा भई प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव आठ डिग्री र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
प्रतिक्रिया