‘अदालतको समस्या समाधान भनेकै प्रधानन्यायाधीशको राजीनामा’

काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानुन व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामाबारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलनबारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अहिलेको अदालतको समस्या समाधान भनेकै प्रधानन्यायाधीशको राजीनामा भएको बताए ।
उनले प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशको राजीनामाको माग गरेको र प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनसँग छलफल गरेर केही दिनभित्रै समस्याको समाधान गर्ने जानकारी गराएको श्रेष्ठले बताए । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले वकिल र न्यायाधीशको तर्फबाट प्रधानन्यायाधीशले विश्वास गुमाइसकेकाले राजीनामा दिन आवश्यक रहेको कुरा प्रधानमन्त्रीलाई बताएको बताए ।
अध्यक्ष शाक्यले प्रधानन्यायाधीशले गरेका न्यायमाथि विश्वसनियता नभएको भन्दै प्रधानन्यायाधीशले घरबाटै राजीनामा दिनुपर्ने बताए । अध्यक्ष शाक्यले प्रधानमन्त्रीसँगको छलफलमा प्रधानमन्त्री देउवाले कानुन व्यवसायीहरुको कुरालाई गम्भीरताका साथ विचार गरेर पहल गर्ने प्रतिवद्धता जनाएको बताए ।
यसअघि बिहीवार न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एशोसिएशनले सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरेको थियो । लामो समय यता सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् । नेपाल बार एशोसिएशनले भने प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया