शुक्रबार, वैशाख १४, २०८१

कोरोनाको नयाँ भेरिएन्टको आतंक : भारतीय सेयर बजारमा एकै दिनमा डुब्यो ११ लाख करोड

नेपालखोज २०७८ मंसिर ११ गते ८:२१

नयाँदिल्ली । कोरोनाको नयाँ भेरिएन्ट फेला परेको समाचारले अहिले संसारभर तहल्का मच्चाएको छ । यसको सीधा असर सेयर बजारमा समेत परेको छ । यसक्रममा हिजो भारतको सेयर बजारमा लगानीकर्ताहरुले एकै दिनमा करिब ११ लाख करोड रुपैयाँको नोक्सानी बेहोर्नुपरेको छ ।

भारतीय अनलाइनहरुका अनुसार साताको आखिरी कारोबारको दिन भारतीय सेयर बजारमा सेन्सेक्स १६८७.९४ अंक वा २.८७ प्रतिशतको नोक्सानीका साथ ५७,१०७.१५ अंकमा पुग्यो । हिजोको भारतीय सेयर बजार ५०९.८० अंक अर्थात् २.९१ प्रतिशत तल झर्दै १७,०२६.५० मा पुगेर बन्द भयो ।

यही कारणले बीएसईको मार्केट क्यापिटलबाट एकै दिनमा सात लाख ३६ हजार करोड भारु गायब भयो । यो एक हिसाबले तमाम लगानीकर्ताको नोक्सान हो । बिहीबार भारतीय सेयर बजारको मार्केट क्यापिटल २,६५,६६,९५३.८८ भारु थियो जुन शुक्रबार कम भएर २,५८,३१,१७२ भारुमा खुम्चियो ।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट फेला परेपछि वैज्ञानिकहरु त्यसको विस्तृत अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरुले यो भेरिएन्टलाई बी.१.१.५२९ कोड दिएका छन् । उनीहरुले डब्ल्यूएचओसँग आपत्‌कालीन बैठक राख्न अनुरोध गरेका छन् । रातारात बदलिएको यो परिस्थितिका कारण अफ्रिकासँगका कैंयन् हवाई उडान स्थगित गरिएका छन् ।

कोरोनाको यो नयाँ भेरिएन्टका कारण संसारभर चलिरहेको इकोनोमीको रिकभरीमा असर पर्ने आशंका छ । नयाँ भेरिएन्टकै कारण संसार एकपटक फेरि लकडाउनमा जान सक्छ । आफ्नो बाटोमा फर्कन लागेको विश्व अर्थतन्त्रका लागि यो एउटा ठुलो नोक्सानी हुनेछ । अहिले भारतमा विदेशी लगानीकर्ताहरुले सेयर बजारबाट रकम झिक्न थालेका छन । क्रिसमस र न्यु इयर सेलिब्रेसनका लागि प्रत्येक वर्ष यसरी रकम झिकिए पनि यसपटक त्यसमा कोरोनाको नयाँ भेरिएन्टको आतंकसमेत थपिएको छ ।

प्रतिक्रिया