‘कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यक’

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण सबुज बानियाँ समूहको उम्मेद्वारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।
‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले संचालन गर्न १४औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक छ,’ उनले भने । नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने प्रस्ट पारेका छन् ।
२०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा हारेको सम्बन्धमा गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाउन शीर्ष नेता अभिभावक बनेर बस्नुपर्ने उल्लेख गर्दै जनतालाई आश र भरोसा दिने नेतृत्व १४औँ महाधिवेशनले दिनुपर्ने बताए । उनले मत हुने पार्टीमा मतभेद हुनु सामान्य भएको भन्दै विवेकपूर्ण ढंगले आफ्नो मतको प्रयोग गर्न सबैलाई आग्रहसमेत गरे ।
कांग्रेस काठमाडौँका सभापतिका उम्मेद्वार कृष्ण सबुज बानियाँले कांग्रेस संगठनलाई थप सशक्त बनाउन आफूले दोस्रो कार्यकालका लागि सभापति पदमा उम्मेद्वारी दिन लागेको बताए । बानियाँ समूहबाट उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा र सह-सचिवमा रोमेल श्रेष्ठ र प्रा.डा. अमिता प्रधानले उम्मेद्वारी दिने घोषणा गरेका थिए ।

प्रतिक्रिया