कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन्छ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सिमित गराएको भन्दै यस पटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् ।
शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिने बताए ।
उनले भने, ‘केन्द्रको नेतृत्व यदी हामीले परिवर्तन गर्न सकेनौँ भने १३औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टी, अब फेरी हामीले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहे अनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ । कांग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सक्ने रहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ ।’
कांग्रेस काठमाडौं जिल्ला समितीमा नेताहरु थापा र श्रेष्ठको समर्थनमा सभापति कृष्ण बानियाँ(सबुज), उपसभापतिहरु राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरु गोविन्द पुडासैनी र इन्द्रबहादुर थापालगायतको कार्यसमितिको उम्मेदवारी घोषणा गरिएको छ ।

प्रतिक्रिया