एमाले महाधिवेशन : बन्दसत्र सुरु, नयाँ नेतृत्व चयन गरिँदै

नेपालखोज २०७८ मंसिर ११ गते १५:५९

काठमाडौं । नेकपा (एमाले) महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन् ।

बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

पार्टी महासचिव ईश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गरे । बन्दसत्रमा विदेशी पाहुनाहरुले बोल्ने क्रम सुरु भएको छ । महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित दुई हजार दुई सय ७५ प्रतिनिधि छन् ।

बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ। सहमतिकै लागि विधान परिमार्जन गर्न गएराति सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुई सय २५ सदस्यीयलाई तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार सुरु भएको थियो ।

प्रतिक्रिया