‘प्रधानन्यायाधीश विरुद्ध राजनीतिक दलले महाअभियोग नलगाएसम्म आन्दोलन जारी रहन्छ’

काठमाडौं । वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीश विरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताएका छन् । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता शाक्यले राजनीतिक दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएमात्रै बारको आन्दोलन रोकिने बताए ।
उनले प्रधानन्यायाधीश जबरा कानुनी र कागजी रुपमा प्रधानन्यायाधीश पदमा हालसम्म कायम रहेको भएपनि व्यवहारिक रुपमा भने सो पदमा नरहेको जिकिर गरे । उनले प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जनतालाई दुख दिएर अदालत ठप्प पारेको आरोप लगाए ।
त्यस्तै, अधिवक्ता अनन्तराज लुँइटेलले आगामी दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढंगले गर्नुपर्ने बताए । अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उनले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोसेढुंगा साबित गराउनु पर्नेमा जोड दिए ।
त्यस्तै, अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानन्यायाधीश जबरा न्यायपालिकाको प्रदुषण भएको टिप्पणी गरे । कानुन व्यवसायीको आजसम्मको कुनै पनि आन्दोलन असफल नभएकाले प्रधानन्यायाधीश विरुद्धको यो आन्दोलन पनि सफल हुने उनले दाबी गरे ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । बारले सर्वोच्चमा निरन्तर धर्ना दिदैँ आएको छ ।

प्रतिक्रिया