कांग्रेस महाधिवेशन : गण्डकीको सभापतिमा पौडेलको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापति पदमा रघुनाथ पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा १५ वर्षसम्म जिम्मेवारी सम्हाल्नुभएका पौडेलले पोखरामा आज पत्रकार सम्मेलन गर्दै संगठनलाई थप मजबुद बनाउनका लागि उम्मेदवारी दिन लागेको जानकारी दिए । गण्डकी प्रदेशका सबै जिल्लाका भूगोलसँग आँफू परिचित रहेको उल्लेख गर्दै उनले २०४६ साल, २०६२/६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा अन्य दल समेतलाई समेट्दै आन्दोलनको नेतृत्व गर्नुका साथै २०५९ देखि २०६७ सम्म सर्वदलीय संयन्त्रको नेतृत्व गरेको उल्लेख गए।
प्रदेश सभापतिमा निर्वाचित भएसँगै महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचालन गर्ने, तदर्थवादमा चलेको पार्टी संगठनलाई विधानसम्मत ढङ्गले चलाउने, पार्टीको विविध विभागको यथाशिघ्र गठन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
भातृ संगठनका पदाधिकारी एवं कार्यकर्तालाई पार्टीको इतिहास, नीति तथा सिद्धान्त र पार्टी सरकारमा हुँदा सम्पन्न गरेको कार्यको प्रचारप्रसार गर्न सक्ने बनाउने उनको भनाइ छ । आफ्ना कार्यकर्तालाई विपक्षी दलका कार्यकर्तासँग सैद्धान्तिक बहस गर्नसक्ने बनाउने, आफ्नो पार्टी सरकारमा हुँदा गरिएका राम्रा कामको तथ्यांक तयार पारी सार्वजनिक गर्नेसमेत पौडेलले बताए ।
प्रतिक्रिया