काठमाडौं कांग्रेसको सभापतिमा कृष्ण सबुज निर्वाचित

नेपालखोज २०७८ मंसिर १३ गते ९:३६

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका सभापतिमा कृष्ण (सबुज) बानिया निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत हिजो (आइतबार) जिल्ला अधिवेशनमा भएको मतदानको आज बिहान मतपरिणाम सार्वजनिक भएको हो ।

मतपरिणामअनुसार बानिया १९५७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कार्कीले १०८९ मत प्राप्त गरे ।
यस्तै, उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी र सहसचिवमा रोमेल श्रेष्ठ र प्रा.डा.अमिता प्रधान निर्वाचित भएका छन् ।

सभापतिमा निर्वाचित बानिया यसअघि पनि काठमाडौं कांग्रेस सभापति थिए । कांग्रेसको प्रदेश अधिवेशन मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

प्रतिक्रिया