शनिबार, वैशाख १५, २०८१

‘राम्रो विचारधाराको पार्टीले राम्रोकै साथ दिन्छ’

नेपालखोज २०७८ मंसिर १३ गते १७:१७

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा नेकपा एमालेबाट बिद्रोह गरेको बताएका छन् ।

सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र चितवनको कुम्भ मेला नै पर्याप्त रहेको बताए । उनले नेकपा एमाले पार्टी भित्र फरक मत राख्नेहरुको अपमान भइरहेको भन्दै नेकपा एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए ।

नेकपा एमालेले कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने प्रवृत्तिले नै नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट पारेको भन्दै अध्यक्ष नेपालले एमाले अधोगतितर्फ गइसकेको दाबी गरे ।

अध्यक्ष नेपालले भने, ‘अहिले हामीले कम्युनिष्ट आन्दोलनमा बिद्रोह गरेका छौं । नेकपा एमालेबाट बिद्रोह गर्‍यौं । किन बिद्रोह गर्‍यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ । त्यहाँको कुम्भ मेला नै पर्याप्त छ, त्यहाँ फरक मत राख्ने व्यक्ति हरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौँ । त्यो नै पर्याप्त छ । जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो नेकपा एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ ।’

अध्यक्ष नेपालले नेकपा एमालेलाई विदेशीको दलालीले मात्र प्रशंसा गर्न सक्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताले महाधिवेशन उद्घाटनमा एमालेको उच्च प्रशंसा गर्नु स्वभनीय नभएको बताए । उनले राम्रो विचारधाराको पार्टीले राम्रोकै साथ दिने र नराम्रो विचारधाराको पार्टीले नराम्रोको नै साथ दिने भन्दै एमालेको कामले पार्टी कुन दिशातर्फ गइरहेको छ भन्ने प्रष्ट देखिने बताए । उनले अहिले बामपन्थी, लोकतान्त्रिक शक्तिहरु मिलेर ५ दलीय गठबन्धन सरकार बनाएको र मुलुक र संविधान मास्नेहरुबाट मुक्ति दिलाएको बताए ।

अध्यक्ष नेपालले क्रान्तिबाट प्राप्त गरेका उपलब्धिहरुको जगेर्ना गर्न र क्रान्तिबाट प्राप्त भएको उपलब्धिहरुप्रति अत्यन्त सजग भएको बताए । उनले देशलाई प्रगतिको दिशामा अघि बढाउनका लागि नेकपा एकीकृत समाजवादी लागि पर्ने बताए ।

प्रतिक्रिया