नेता रावल भन्छन्- निर्वाचन परिणाम स्विकारर्छु

नेपालखोज २०७८ मंसिर १४ गते १०:०६

चितवन । नेकपा (एमाले)को अध्यक्षमा उम्मेद्वारी दिएका नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौं महाधिवेशनमा मंगलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । निर्वाचन परिणाम जे आए पनि स्विकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो ।

रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उनले घोषणा गरेका छन् । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो ।

उनले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेद्वारी नरहेको प्रष्ट पारे । एमाले पदाधिकारीका उम्मेद्वारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेद्वारका रुपमा राखिएको छ ।

रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पारे । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताए । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।

प्रतिक्रिया