बिहीबार, वैशाख १३, २०८१

हाम्रो देश नेपाल, हामी सबै नेपाली

लोकेश ढकाल २०७८ मंसिर १४ गते २०:४३

प्रत्येक नेपाली नागरिकमा म नेपाली हुँ र मेरो देश नेपाल हो भन्ने राष्ट्रप्रेमको भावना मन मनमा हुनुपर्दछ । त्यसरी नै प्रत्येक राजनीति कर्मीमा म नेपाली हुँ, मेरो देश नेपाल हो, म नेपाली हुनुमा गर्व गर्दछु र मैले मेरो देश नेपाल र नेपाली जनताको बिरूद्ध गद्दारी कहिल्यै गर्ने छैन, सदा निस्वार्थ भावनाबाट समाजसेवा एवम् राजनीति गर्ने छु भन्ने आत्म–सपथ वा स्वप्रतिज्ञा गरेर मात्र राजनीतिमा पहिलो पाइला चाल्नुपर्दछ । राजनीति कर्मी नेतृत्व तहदेखि आम कार्यकर्ता तहसम्म सबैमा समाज र राष्ट्रप्रति दायित्व बोध, राष्ट्र प्रेम र राष्ट्रियतालाई दह्रिलो बनाउने सोच, आम जनतालाई यही राष्ट्रिय भावनाले ओतप्रोत भएर एकताको सूत्रमा बाँध्ने सङ्कल्प हुनुपर्छ । आम नेपाली जनताको मनमा राष्ट्रभक्ति र राष्ट्रियताको भावना जागृत गर्ने काम राजनीतिले गर्नुपर्छ ।

देश बनाउने दायित्व केवल राजनीतिक दल, नेता वा राजा–महाराजाको जिम्मा वा ठेक्का होइन । देश बनाउने दायित्व आम नागरिकको हो । राजनीतिले नै आम नेपाली जनतालाई देश निर्माण गर्ने कार्यमा जोड्दछ । आम जनता जो देशका किसान, मजदुर आदि गरिब दुःखीहरूको जीवन स्तर माथि उठाउने काम नै राजनीति हो । गरिबी र अशिक्षाबाट जनतालाई मुक्त गरेर देशलाई उन्नतिको बाटोमा अग्रसर गराउने पुनीत कार्य नै राजनीति हो । राजनीति जनताको अधिकार हो, जहाँ जनताले स्वतन्त्रपूर्वक बोल्ने र लेख्ने अधिकार राख्दछ । यस अर्थमा प्रजातान्त्रिक शासन पद्धति नै जनताको शासन पद्धति हो । प्रजातान्त्रिक पद्धतिमा मात्र आम जनताले राजनीतिमा सक्रिय सहभागिताको अवसर पाउँछन् । कुनै पनि प्रकारको तानाशाही राजनीतिक पद्धतिमा आम जनताले आफ्नो सहभागिता जनाउन पाउँदैनन् । राजनीतिमा जनताको सहज सहभागिता नै प्रजातन्त्र हो । गरिब किसान र मजदुरलाई अधिकार दिने र जीवन माथि उठाउने शासन पद्धति नै प्रजातान्त्रिक पद्धति हो ।

सामान्यतः राजनीतिका माध्यमले समाज र देशको सेवा गर्दछु भनेर सङ्कल्प एवं समर्पण गरेर अगाडि बढेको कुनै पनि व्यक्ति, राजनीतिक कर्मी वा कार्यकर्ताले मात्र होइन बालिग भएका आम नेपालीले सर्बप्रथम आफ्नो देश नेपाललाई राम्रोसँग बुझेको हुनुपर्छ । नेपाल र नेपालीलाई बुझ्न थोरबहुत देशको संविधानको बारेमा त जानकारी राख्नैपर्दछ, त्यसै गरी सर्वप्रथम, आफ्नो देशको सामान्य इतिहास, भूगोल, जाति, भाषा, हाम्रा परम्परागत चालचलन धर्म र संस्कृति आदि विषयको पनि त्यत्तिकै ज्ञान राख्नुपर्छ ।

गोरखा राज्यको शाहबंशीय राजा पृथ्वीनारायण शाहको साहसिक अगुवाइमा बाइसे र चौबिसे भनिने साना–साना राज्यहरूलाई एकीकरण गरेर वर्तमान विशाल नेपाल राष्ट्र निर्माण भएको हो भन्ने तथ्य जानिराख्नुपर्छ । नेपाल राष्ट्र निर्माण हुँदा दुनियाँमा मुस्किलले तीन दर्जन राष्ट्र मात्र थिए । यस हिसाबले नेपाल दुनियाँको पुरानो राष्ट्र हो । पृथ्वीनारायण शाह र बहादुर शाहले एकीकरण गरेर निर्माण गरेको नेपालले सन् १८१६ मा अंग्रेजसँग भएको सुगौलीसन्धि पछि झन्डै एक तिहाई भूमि गुमाउन पुग्यो भने सन् १८६० मा श्री ३ महाराज जङ्गबहादुर राणाको प्रयासमा हालको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी चार जिल्ला नेपालमा थपिएको थियो । थपिएको यो भूभागलाई पछिसम्म नयाँ मुलुक भन्ने गरिन्थ्यो । त्यो थप भएको भूभाग पछि कायम भएको नेपाल नै वर्तमान नेपाल राष्ट्र हो भन्ने ऐतिहासिक तथ्यलाई हामी सबैले राम्रोसँग बुझ्नुपर्दछ र हाल निकै चर्चामा रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि नेपालभित्र नै पर्दछ तर यो क्षेत्रलाई नेपालले आफ्नो भनेर प्रमाणसहित दावी गरिरहेको भए तापनि यो क्षेत्रलाई अझै पनि नेपालको सीमा भित्र समावेस गर्न सकिरहेको छैन ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तरमा हिमालदेखि तराईसम्म फैलिएको हाम्रो देश नेपाल प्राकृतिक, भौगोलिक विविधता अनि धार्मिक, साँस्कृतिक, भाषिक एवम् जातीय विविधता नै नेपालको आफ्नो मौलिक चिनारी र हाम्रो प्राकृतिक, भौगोलिक, साँस्कृतिक वैभव हाम्रा सम्पदा हुन्, यो नै हाम्रो पहिचान हो भन्ने यथार्थलाई हामी सबैले राम्रोसँग बुझ्नु पर्छ । नेपालमा बहुसङ्ख्यक वैदिक सनातन धर्म र संस्कृतिका अनुयायी हिन्दू धर्मावलम्बी, निकै ठुलो सँख्यामा बौद्ध÷वोन धर्मका अनुयायी, मुश्लिम तथा अरू केही धर्म अवलम्बन गर्ने धार्मिक समुदायको बसोबास रहेको छ ।
नेपालको भौगोलिक स्थिति
नेपाल विश्व मानचित्रमा दक्षिण एसियामा अवस्थित भू–परिवेष्ठित हिमाली राष्ट्र हो । नेपाल २६ डिग्री २२ मिनटदेखि ३० डिग्री २६ मिनट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनटदेखि ८८ डिग्री १२ मिनट पूर्व देशान्तरमा फैलिएको छ । नेपाल विश्वको कूल भू-भागको ०.०३ प्रतिशत, एसियाको ०.३ प्रतिशत र दक्षिण एसियाको २.८२ प्रतिशत ओगटेको छ । नेपाल विश्व कै दुई ठुला देश भारत र चीनको बिचमा अवस्थित छ । यो समुद्रबाट (बङ्गालको खाडी देखि) ११२७ कि मि दूरीमा छ । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग कि मि छ । पछिल्लो समय नाबी, कुटी, गुञ्जी लगायत लिम्पियाधुरालाई समेटेर सरकारले नक्सा जारी गरे पछि नेपालको कुल क्षेत्रफल १,४७,६४१.२८ वर्ग कि.मि. मानिएको छ ।

नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर–दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ । यसको दक्षिण भारतको बिहार र उत्तर प्रदेश राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा भारतको पश्चिम बङ्गाल, अनि सिक्किम राज्य र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशँकर हिमाललाई काटेर गएको ८५ डिग्री १५ मिनट पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको छ । नेपालको समय ग्रीनवीच मानक समय भन्दा ५ घण्टा ४५ मिनट छिटो छ । यो समय वि.स. २०४२ साल वैशाख १ गते देखि लागु गरिएको हो ।

विश्वका ८,००० मिटरभन्दा माथि अग्ला १४ चुचुराहरूमध्ये नेपालमा ८ वटा पर्दछन् । ६,००० मिटर र सो भन्दा अग्ला चुचुरा १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र यस्ता लगभग ३०१ चुचुरा रहेका छन् । नेपालमा हिमालयका साथै कोसी, गण्डकी र कर्णालीजस्ता ठूला नदीहरू र रारा, फेवा, फोक्सुण्डो, गोसाईँकुण्ड जस्ता सुन्दरतालहरू छन् । भू–स्वरूपको विविधताका साथै जलवायु र मौसमको अत्यधिक विविधताले गर्दा उष्ण, अर्धोष्ण, सूक्ष्मतापीय, टाइगा र टुन्द्रा प्रकारका जलवायु नेपालमा पाइन्छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, जानकी (सीता) को जन्मभूमिको देश, गौतम बुद्धको जन्मभूमि लुम्बिनी भएको देश, र दुनियाँ कै छुट्टै विशिष्ट झण्डा भएको देशको रूपमा समेत परिचित छ ।

(यो सामग्री हामीले लेखक/विश्लेशक एवं नेपाली कांग्रेसका नेता लोकेश ढकालद्वारा लिखित ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श पुस्तक’ बाट लिएका हौं । शिखा बुक्सले प्रकाशनमा ल्याएको यो पुस्तक आजै मात्र सार्वजनिक भएको हो ।)

प्रतिक्रिया