सोमबार, फागुन १४, २०८०

नेपालमा एचआइभी एड्सको संक्रमण दर घट्दो

नेपालखोज २०७८ मंसिर १४ गते १७:१५

काठमाडौं । नेपालमा एचआइभी एड्स संक्रमण दर घटेको एक अध्ययनले देखाएको छ । विगत १० वर्षको तथ्यांक हेर्दा संक्रमण दर घटेको अध्ययनले देखाएको हो ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तक्रिया कार्यक्रममा १० वर्षको अन्तरमा संक्रमण दर ६३ प्रतिशतले घटेको केन्द्रका निर्देशक डा सुधा देवकोटाले जानकारी दिए। ‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४औँ विश्व एड्स दिवस भोलि मनाइँदै छ ।

त्यस्तै सन् २०१० मा २१५ जना बालबालिकामा संक्रमण रहेकामा सन् २०२० मा पुग्दा ८० बालबालिमामा मात्र रहेको पाइएको छ । त्यस्तै सन् २०१० मा एड्सका कारणले एक हजार ४१३ जना मानिसको निधन हुने गरेकोमा त्यो संक्रमण सन् २०२० मा पुग्दा ६३६ जनामा झरेको छ ।

उनले सरकारले एचआइभी र एड्स नियन्त्रणमा चालेका उपायले संक्रमण दर घटेको बताए । उनका अनुसार सन् २०१० मा दुई हजार ६१ जना नयाँ संक्रमण पाइएकोमा सन् २०२० मा ७५४ जना मात्र पाइएको छ । नियमित उपचार, हेरचाह तथा सहयोग कार्यक्रमले एचआइभीमा संक्रमणमा नियन्त्रण भइरहेको छ ।

सरकारले एचआइभी संक्रमण रोकथामका लागि कण्डम प्रयोग प्रवर्द्धन, एचआइभी परामर्श र परीक्षण, यौन रोगको निदान र उपचार, एन्टी–रेट्रोभाइरल (एआरभी) सेवा प्रदान गरिँदै आइरहेको छ । नेपालमा अहिले एचआइभी संक्रमितलाई ६१ जिल्लामा ८३ वटा एआरभी सेवा प्रदान गरिँदै आइरहेको छ । अहिले २० हजार ८८३ जनाले नियमित एआरभी सेवा औषधि सेवन गर्ने उनले बताए। यो संख्या कुल संक्रमितको ६९ प्रतिशत हो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले सन् २०२० को अन्त्यसम्म नेपालमा करिब ३० लाख ३०० सङ्क्रमित रहेको जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये ०.१३ प्रतिशत व्यस्कमा संक्रमण रहेको छ । नेपालमा एचआइभी सर्नसक्ने जोखिममा रहेका समूहमा एचआइभी संक्रमण दर ५ प्रतिशत भन्दाबढी र सामान्य जनसंख्यामा एचआइभी संक्रमण दर एक प्रतिशत भन्दा कम रहेको छ ।

त्यस्तै सुईद्वारा लागुऔषध प्रयोग गर्नेमा तीन प्रतिशतका दरले सङ्क्रमण रहेको पाइएको छ । त्यस्तै महिला यौनकर्मीमा २.२ प्रतिशत, पुरुष समलिङ्गीमा ६.२ प्रतिशत, भारतमा कामदार नेपालीमा पश्चिममा ०.३ प्रतिशत र सुदूरपश्चिममा ०.६ प्रतिशत संक्रमण पाइएको छ । सरकारले २०३० सम्ममा नेपालमा एचआइभी तथा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया