बुधबार, वैशाख १२, २०८१

राखेप सदस्य सचिव घिसिङले लिए शपथ

नेपालखोज २०७८ मंसिर १४ गते १७:५६

काठमाडौं । मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङले आज पद तथा गोपनियताको शपथ लिएका छन् । शपथ लिएसँगै सदस्य सचिव घिसिङले त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेर पदभार ग्रहण पनि गरेका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमका बीच सदस्य सचिव घिसिङलाई पद तथा गोपनियताको शपथ गराएका थिए । कार्यक्रममा बोल्दै घिसिङले राष्ट्रिय खेलाडीको बिमा र राष्ट्रिय टोलीको सुधारमा जोड दिने बताएका छन् । साथै घिसिङले राष्ट्रिय टोलीको सुधारमा विशेष जोड दिँदै अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न योग्य बनाउने योजना रहेको पनि सुनाए ।

नवनियुक्त सदस्य सचिवको शपथ ग्रहण कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषदले नेतृत्व पाएको र चलायमान हुन नसकेकका खेलकुद गतिविधि जेट विमान जस्तै रफ्ताररमा अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

पदभार ग्रहण गरे लगत्तै सञ्चारकर्मीसँग बोल्दै सदस्य सचिव घिसिङले थलिएको खेलकुद गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाए । उनले राष्ट्रिय टिम तयारी र आवश्यक छनोट प्रक्रियालाई आगाडी बढाउने तथा ग्रासरुटदेखि नै खेलकुद विकासमा जोड दिने बताए । राष्ट्रिय खेलकुद परिषदमा रहेको चुनौतिलाई अवसरमा बदल्दै आफूले पेस गरेका योजना कार्यन्वयन गर्न जोड दिएर खेलकुद विकासका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सोमबार बसेको मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गर्ने निर्णय गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङले नेपाल रग्बी संघका अध्यक्ष कार्यकाल पूरा गरेको अनुभव रहेको छ । नेकपा माओवादी वाग्मती प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका घिसिङलाई मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले घिसिङलाई सदस्य सचिवमा चार वर्षको लागि नियुक्त गरेको थियो ।

सदस्य सचिवका लागि परेका १८ जनाको नामावलीबाट सिफारिस समितिले घिसिङसहित अच्युतम लामिछाने र ममता श्रेष्ठको नाम मन्त्रिपरिषदमा पेस गरेको थियो । यस अघि मन्त्री गतहराजले मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञावली र हरिबहादुर श्रेष्ठ सम्मलित छनोट समिति गठन गरेका थिए । तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई शेरबहादुर नेतृत्वको सरकारले बर्खास्त गरेको थियो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता छनोटबाट नियुक्त हुने घिसिङ दोस्रो सदस्य सचिव बनेका छन् ।

प्रतिक्रिया