त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा सटल बस सेवा संचालन

नेपालखोज २०७८ मंसिर १५ गते १४:२२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेशनमा सटल बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका रुपमा सञ्चालनमा ल्याएको हो । बुधबार सो सटल बसको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेममबहादुर आलेले गरे ।

उक्त अवसरमा बोल्दै मन्त्री आलेले विमानस्थल प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भनिएको बताए । मन्त्री आलेले पटक- पटक आफैले निर्देशन दिँदासमेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्नु परेको स्पष्ट पारे ।

विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महँगो भएको धेरै यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उनले बताए । बस सेवा छोटो समयको लागि नभइै दीर्घकालिन रुपमा नै सञ्चालन गरिरहने मन्त्री आलेले बताए ।

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह गरे । मन्त्री आलेले विमानस्थलको क्यान्टिन तथा कफी पसलमा रहेको मँहगी १५ प्रतिशत सस्तो भएको तर ट्याक्सीहरुले भने अटेर गरेको बताए ।

त्यस्तै, आजबाट नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटन मन्त्री आलेले उद्घाटन गरे । विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए । नेपाली श्रमिक विदेशी मुलुकको ५० डिग्रीमा श्रम गरेर रेमिट्यान्स पठाउने तर,उनीहरुको लागि राज्यबाट विदेश जानको लागि समेत कुनै सुविधा प्रदान नगरेको बतए ।

अब विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा सित्तैमा यात्रा गर्न पाउने छन् । सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन् ।

प्रतिक्रिया