नेप्से ५ अंकले बढ्दा २ अर्ब ७४ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन झण्डै दुई अंकले घटेको नेप्से साताको चौथो कारोबार दिन आज भने पाँच दशमलव २८ अंकले बढेर २६ सय ३३ दशमलव ६५ अंकमा पुगेको छ ।
त्यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ८९ अंकले बढेर चार सय ९६ दशमलव ७४ अंकमा पुगेको छ । दुई सय २३ वटा कम्पनीहरुको ३७ हजार पाँच सय ८५ पटकको कारोबारमा ५३ लाख १० हजार दुई सय १५ कित्ता सेयर खरिद बिक्री भएकाछन् । जसबाट कुल कारोबार रकम दुई अर्ब ७४ करोड २० लाख ८५ हजार सात सय चार रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा आज नौ वटा समूहको सूचक बढेर चार वटा समूहको सूचक घटेकाछन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ६५ अंकले बढेर १७ सय ६३ दशमलव दुई अंकमा जलविद्युत समूहको सूचक पनि सात दशमलव चार अंकले बढेर तीन हजार २४ दशमलव ७६ अंकमा चढेको छ ।
यसैगरी विकास बैंक, फाईनान्स, ट्रेडिङ, उत्पादनमुलक, अन्य, र लगानी समूहरुको सूचक पनि बढेकाछन् । निर्जिवन बिमा समूहको सूचक भने २२ दशमलव २१ अंकले घटेर ११ हजार सात सय ५२ दशमलव २१ अंकमा झरेकोमा जीवन बिमा, होटल तथा पर्यटन र लघुवित्त समूहको सूचक पनि घटेकाछन् ।
नेप्सेमा आज सामलिङ पावर लिमिटेडको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर चार सय ६१ रुपैयाँ ४० पैसामा कारोबार हुंदा आईसीएफसी फाईनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ६२ प्रतिशतले घटेर आठ सय ४० रुपैयाँ अन्तिम मूल्यमा कारोबार भएको छ । त्यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १४ सय २६ रुपैयाँ अन्तिम मूल्यमा १४ करोड ५३ लाख ९३ हजार ९९ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया