नेपालीको आवागमनमा भारतीय कडाइ, भारत प्रवेशका लागि नियम परिवर्तन !

काठमाडौं । भारतको उत्तराखण्डसँग जोडिएको नेपाल-भारत सीमाबाट भारत प्रवेश गर्नेहरुका लागि भारतले नियममा परिवर्तन गरी कडाइ गर्न थालेको छ । नयाँ नियमअनुसार नेपाली नागरिक अब परिचयपत्र देखाएर मात्र भारत प्रवेश गर्न सक्नेछन् । यसका लागि सीमा क्षेत्रमा भारतीय सुरक्षा निकायहरुको सक्रियता पनि बढाइएको छ ।
नेपालसँग जोडिएको उत्तराखण्डको पिथौरागढ जनपदअन्तर्गत १५० किलोमिटर क्षेत्र पर्छ । त्यस क्षेत्रमा भारत-नेपाल सीमा महाकाली नदीमा सीतापुल, एलागाड, धार्चुला, बलुवाकोट, जौलजीबी तथा झुलाघाटमा आवतजावतका लागि पुलहरु छन् । यी पुलबाट रोजगारीका लागि भारत जाने नेपालीका अतिरिक्त अरु हजारौं नेपाली तथा भारतीय आउजाउ गर्छन् ।
कालापानीसँग जोडिएको नेपाली क्षेत्रमा भारतले अनधिकृत कब्जा जमाएको छ । भारतले उक्त उच्च पहाडी क्षेत्रमा जनगणनाका लागि भारतीय बाटो प्रयोग गर्नसमेत दिएको छैन । नेपालको भू-भागमा भारतीय कू-दृष्टिकै कारण अहिले उक्त क्षेत्रमा भारतीय पक्षले नयाँ-नयाँ नियम लागु गरी नेपालीहरुलाई दु:ख दिन थालेको बताइन्छ ।
अराजक तत्त्वहरुको प्रवेश रोक्न नेपालसँगको सीमामा एसएसबीको निगरानी बढाइएको भारतीय पक्षको दाबी छ । यसै सातादेखि सीमा क्षेत्रका पुलहरुमा भारत प्रवेश गर्न चाहने नेपाली नागरिकले कडा सुरक्षा जाँचबाट गुज्रनु परिरहेको छ । अहिले उक्त क्षेत्रमा परिचयपत्र नदेखाइ कुनै पनि नेपालीलाई भारत प्रवेश गर्न दिइएको छैन ।
भारतको दैनिक पत्रिका हिन्दुस्तानको अनलाइन संस्करणमा जनाइएअनुसार उत्तराखण्ड राज्यमा हुन लागेको विधानसभा चुनावलाई पनि मध्यनजर गर्दै सुरक्षा जाँच बढाइएको हो ।
सुदूरपश्चिमको उक्त क्षेत्र हुँदै थुप्रै नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । ती पाँच सिमान्त पुलबाट दैनिक १० हजार मानिस आवातजावत गर्छन् । त्यसमा अधिकांश नेपाली नै हुने गरेका छन् ।
धार्चुला जान चाहने नेपालीले अहिले सुरक्षा जाँचका लागि घण्टौं लाइनमा बस्नुपर्ने स्थिति छ । यहाँ भारत-नेपाल सीमामा बिहान पौने ८ देखि बेलुकी पौने ८ बजे सम्म मात्र आवतजावत गर्न पाइन्छ । यो साताको सुरुदेखि नै झुलाघाट पुलमा नेपालबाट भारत प्रवेश गर्नेको लामो लाइन देखिएको छ ।
भारत-नेपाल सिमानामा बनेका यी पुलबाट विशेष परिस्थितिबाहेक खुला आवतजावत हुँदै आएको थियो । त्यहाँ दुवै देशका सुरक्षा निकायहरुले नागरिकको आवागमनमा कुनै व्यावधान गर्दैनथे । त्यस्तो सीधा प्रवेशमा कुनै परिचयपत्रको पनि आवश्यकता पर्दैनथ्यो । केवल संदीग्ध व्यक्तिहरुसँग एसएसबीले परिचयपत्र माग्ने गरेको थियो । यद्यपि अब प्रत्येक नेपाली नागरिकसँग परिचयपत्र खोजिन्छ र अनेक सोधपुछपछि मात्र भारत प्रवेश दिइन्छ ।
प्रतिक्रिया