शनिबार, जेठ ४, २०८२

नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागु हुने

नेपालखोज २०७८ मंसिर १५ गते १६:१५

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागु हुने बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनको बुधबार उद्घाटन अर्थमन्त्री शर्माले विभिन्न देशबाट अबैधरुपमा आयात हुने मोबाइल फोनलाई रोक्न सरकारले तत्काल एमडीएमएस प्रणाली लागु गर्ने बताए ।

अर्थमन्त्री शर्माले एमडीएमएस प्रणाली लागू भएपछि विभिन्न देशबाट अबैध रुपमा नेपालमा आयात हुने मोबाइल फोन बन्द हुने बताए । उनले अबैध रुपमा हुने पैठारी रोक्नुपर्ने दायित्व सरकारको भएको बताए । सरकार आफ्नो दायित्वबाट पछि नहट्ने उनले बताए ।

अर्थमन्त्री शर्माले आफू अर्थमन्त्रीको रुपमा मन्त्रालयमा आएसँगै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन जोड दिएको बताए । उत्पादनमुखी अर्थतन्त्रले मात्रै राष्ट्र सबल बन्न सक्ने बताए । अब मोबाइल पनि नेपालमा नै उत्पादन गर्न व्यवसायीलाई आग्रह गरे । उनले नेपालमा मोबाइल फोन उत्पादन गर्न राज्यले कर छुटदेखि अन्य धेरै सुविधा दिन तयार रहेको बताए ।

अर्थमन्त्री शर्माले मोबाइलमा फोनको लागि मात्र नभएर विभिन्न सुविधा रहेको भन्दै त्यसलाई चलाउनको लागि क्षमता वृद्धि गर्नुपर्ने पनि बताए । मन्त्री शर्माले मोबाइल आवश्यकताको वस्तु भइसकेकाले यसलाई सरकारले कुनै किसिमको हस्तक्षेप गर्न सक्ने अवस्था नभएको बताए ।

त्यस्तै, अर्थमन्त्री शर्माले आजको विश्व डिजिटल बनिसकेकाले नेपाललाई पनि सरकारले डिजिटल नेपाल बनाउने अभियानमा रहेको बताए । कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मोबाइल फोन बिलाशिता नभएको बताउँदै यसमा लगानी गर्न बैंकिङ क्षेत्र तयार भएको बताए । उनले व्यवसायी क्षेत्र मुलुुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले बैंक तथा वित्तीय क्षेत्र सँगसँगै सहकार्य र लगानी गर्ने तयार रहेको बताए । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

प्रतिक्रिया