शुक्रबार, चैत १६, २०८०

राष्ट्रवाद/राष्ट्रवादी/देश भक्ति

लोकेश ढकाल २०७८ मंसिर १६ गते ११:५९

राष्ट्रवाद भनेको के हो ? भनेर संक्षेपमा ठ्याक्क परिभाषित गर्न वा भन्न निकै कठिन छ । यस विषयमा दुनियाँमा सबैभन्दा धेरै लेखिए, यसैका विषयमा धेरै क्रान्ति, विद्रोह र आन्दोलनहरू भए तर राष्ट्रवादका विषयमा विश्वव्यापी रूपमा सर्वस्वीकार्य परिभाषा यही हो भन्न सकिन्न । राजनीतिक विचार, आस्था र आ–आफ्ना स्वार्थको दृष्टिले समेत राष्ट्रवादलाई आ–आफ्नै ढङ्गले वुझ्ने र अथ्र्याउने प्रचलन छ । नेपालमा पनि राष्ट्रियता र राष्ट्रवादका सम्बन्धमा राजनीतिक एवम् बौद्धिक समाजमा आ–आफ्नै बुझाइ रहेको पाइन्छ ।

राजनीतिक र राष्ट्रिय इकाई एक समान हुनुपर्छ भन्ने मान्यता राख्ने राजनीतिक विचार वा सिद्धान्तलाई नै राष्ट्रवाद भनिन्छ भन्ने एकथरी विद्वानहरूको धारणा रहेको छ । राष्ट्रवाद यस्तो राजनीतिक आदर्श हो, जसले प्रत्येक राष्ट्रका निम्ति राज्य स्थिति राजनीतिक सङ्गठनको अधिकतम स्वरूप हो भन्ने दृष्टिकोण राख्दछ । मानिसको एउटा समूह, जसले आफ्नो इतिहास, धर्म, संस्कृति, परम्परा, भाषा, जातीयता आदिको आधारमा आफ्नो विशिष्ट पहिचान वा समूह छुट्याउने मत वा विचारलाई राष्ट्रवाद भन्ने पनि एउटा बलियो धारणा छ । यसै मान्यताको आधारमा नैसर्गिक सार्वभौम राजनीतिक समुदायले ‘राष्ट्र’ निर्माण गर्ने अधिकार राख्दछ भनिन्छ ।

निश्चय नै राष्ट्रवाद र राष्ट्रप्रेममा भिन्नता छ । राष्ट्रवाद राजनीतिक विचारधारा हो र यस विचारका पक्षधर वा अनुयायी नै राष्ट्रवादी कहलिन्छन् । तर राष्ट्रप्रेम वा राष्ट्रभक्ति भनेको आफ्नो देश, देशको भूगोल, कला, संस्कृति, भाषा रहनसहन र समग्रमा आफ्नो देशसँग गाँसिएको मौलिक पहिचान प्रतिको अनुराग, आशक्ति वा प्रेम भावलाई वुझाउँछ । राष्ट्रवाद राष्ट्र निर्माणको एउटा सिद्धान्त र विचार हो भने राष्ट्रप्रेम मौजुदा आफ्नो राष्ट्रप्रतिको श्रद्धा वा भक्ति हो । देशको धर्म, संस्कृति, भाषा, साहित्य, कला र माटोप्रतिको प्रेम, सम्मान, समर्पण र भक्ति नै राष्ट्रप्रेम वा देशभक्ति हो ।

नेपाली बृहत् शब्दकोशअनुसार- ‘आफ्नो राष्ट्रको उन्नति–प्रगतिलाई सर्वोपरि मान्ने सिद्धान्त, राष्ट्र र राष्ट्रियतामाथिको विशेष भक्तिभाव, मध्ययुगी सामन्ती निरङ्कुशताको विरूद्ध राष्ट्रिय स्वतन्त्रताको आवाज उठाउने पँुजीवादी विचारधारा’ भनिएको छ । निश्चय नै राष्ट्रवाद आफ्नो राष्ट्र प्रति सम्मान र प्रेमको भावना हो । आफ्नो देशको भौगोलिक, साँस्कृतिक एवम् समाजमा बसोबास गर्ने नागरिक प्रतिको एकता र सम्मानको भावना हो ।

आधुनिक विश्वमा आएको नयाँ खालको राजनीतिक पुनर्जागरणको परिणाम राष्ट्रवाद वा राष्ट्रवादी विचारधाराको विकास भएको मानिन्छ । आधुनिक राष्ट्रवादी चेतनाको विकास वा उदय युरोपको पुर्नजागरणको कालबाट प्रारम्भ भएको थियो । राष्ट्रवाद यस्तो आधुनिक विचार हो, जो पुर्नजागरण पछि राज्य राष्ट्रको रूपमा विकास भयो । सन् १७८९ को फ्रान्सेली राज्य क्रान्तिबाट यस्तो युरोपमुखी राष्ट्रवादी मत सशक्त रूपमा प्रकट भएको थियो । १८ औं शताब्दीमा जर्मनी, इटाली, स्वीजरल्यान्ड आदि देशमा युरोपियन राष्ट्रवादको लहर चलेको थियो । १९ औं शताब्दीमा आधुनिक पश्चिमी शिक्षा र पश्चिमी विचारधाराको प्रभावको कारण ठुलो जनसङ्ख्या भएको भारतमा आधुनिक तर्कसङ्गत धर्मनिरपेक्ष, प्रजातान्त्रिक राष्ट्रवादी विचारलाई अपनाएको थियो भने अहिले हिन्दू राष्ट्रवादको लहर चलेको छ । नेपालको परिपेक्षमा कुरा गर्ने हो भने, नेपाल राष्ट्रको निर्माण भएदेखि राजाको सक्रिय नेतृत्वमा चलेको दलविहीन निर्विकल्प पञ्चायती व्यवस्थामा राजा नै सबै थोक हो भन्ने राष्ट्रवादी सोच थियो, विशेष गरेर राजसंस्था नै राष्ट्रिय एकताका प्रतीक हुन् भन्ने मान्यता थियो । पछिल्लो जनआन्दोलनपछि ‘‘अग्रगामी’’ परिवर्तनको आवरणमा समावेसी प्रजातान्त्रिक धर्मनिरपेक्षवादी राष्ट्रवादको लहर चलेको छ । त्योसँगै धर्मनिरपेक्षवादी विचारधाराको विरूद्ध वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रवादको लहर पनि त्यत्तिकै उर्लदो छ । त्यससँगै गणतन्त्रात्मक धर्मनिरपेक्षवादी राष्ट्रवादको विरूद्ध राजतन्त्रसहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्यको विचारधारा पनि सँगसँगै चलेको छ । नेपालको सन्दर्भमा कुरा गर्दा राजनेता बीपी कोइरालाले प्रजातान्त्रिक मूल्य एवम् राष्ट्रिय एकता र मेलमिलापको नीतिमा आधारित राष्ट्रियतालाई परिभाषित गरेका थिए ।

राष्ट्रवादका सम्बन्धमा नेपाली बुझाइ
नेपाली राजनीतिमा राष्ट्रवाद र राष्ट्रियताको विषयमा बहस र छलफल हुन थालेको ०७ सालको जनक्रान्ति पछि मात्र हो । भारतमा उठेको स्वतन्त्रता सङ्ग्राम र यसले सिर्जना गरेको चेतनाको विस्तारसँगै नेपालमा पनि राष्ट्रियतामाथि प्रारम्भिकरूपमा बहश सुरूभएको पाइन्छ । तर नेपाल र भारत बिचको राष्ट्रियताको आधार भने भिन्न थियो । किनकि नेपाल कहिल्यै पनि बाह्य शक्तिको पुरै नियन्त्रण वा अधिकारमा पुगेको थिएन तर भारतलाई पौराणिक कालदेखि इतिहासको विभिन्न चरणमा लामो समयसम्म बाह्य शक्तिले अधीनस्थ गरेको इतिहास छ । यो ऐतिहासिक तथ्यको आधारमा पनि नेपालको राष्ट्रवादलाई औपनिवेशिक राष्ट्रवादी सोच र चिन्तनबाट विश्लेषण गरेर हुँदैन ।

नेपाली राजनीतिमा राष्ट्रवादलाई आधार बनाएर सबैभन्दा बढी राजनीति हुँदैआएको छ । ०७ सालमा नेपालमा प्रजातन्त्र आएदेखि नै देशको राष्ट्रियता र राष्ट्रवादमाथि टेकेर राजनीति गर्ने संस्कार बस्दै आयो । नेपाली राजनीतिको राष्ट्रियता र राष्ट्रवादलाई हेर्ने र बुझ्ने सोच पनि त्यत्तिकै सङ्कीर्ण रहँदै आएको छ । देशभक्तिको सोचले भन्दा राजनीतिक दल र नेताको स्वार्थबाट यसको भाष्य निर्माण गर्ने प्रयास हुँदै आएको छ ।

राष्ट्रियता वा राष्ट्रवादलाई देशप्रेमको भावनाले नभई सत्तामा पुग्ने एउटा औजारको रूपमा प्रयोग गर्ने डरलाग्दो प्रवृत्ति नेपाली राजनीतिमा बढेको छ । अझ कतिपय अवस्थामा विदेशी भूमिमा अरूको स्वार्थमा समेत राष्ट्रवादको भाष्य निर्माण गर्ने प्रयास भएको पाइन्छ । फलानो दल भन्दा हाम्रो दल बढी राष्ट्रवादी भन्ने र निर्वाचनको वेला यसै मुद्दालाई जोडबलले उठाएर मत माग्ने र सत्तामा पुगेपछि राष्ट्रिय स्वार्थलाई छोडेर दलीय एवम् नेता विशेषको स्वार्थमा काम गर्ने परिपाटी अहिलेको नेपाली राजनीतिको यथार्थ हो ।

एकातर्फ राजनीतिक दलले राष्ट्रवादलाई केवल सत्तामा पुग्ने हतियार वा साधन बनाएका छन् र कार्यकर्ता र आम जनतालाई राष्ट्रभक्तिको भावनाबाट संगठित गर्ने प्रयास गरिरहेका छैनन् भने अर्का तर्फ हामी नेपाली जनता आफ्नो सामथ्र्यलाई नचिनेर राजनीतिक दलहरूले लगाउने उग्र राष्ट्रवादको रङ दलेर उफ्रन्छौं, राजनीतिक दलहरूले सार्वजनिक खपतको लागि लगाउने उग्र राष्ट्रवादी नारा र चर्चाको स्वरमा स्वर मिलाउछौं ।

आजकल नेपालमा राष्ट्रवाद, राष्ट्रियता आदिका विषयमा राजनीतिक वृत्तमा पाइएको वुझाइ र दृष्टिकोणमा सामन्जस्यता पाउन निकै गाह्रो छ । राजनीतिज्ञ एवम् विद्वत वर्गमा राष्ट्रवाद र राष्ट्रियता वारेको वुझाइ र व्याख्या सिद्धान्तनिष्ठ, इतिहाससम्मत, यर्थााताको ज्ञान र वुझाइबाट निकै टाढा, एक प्रकारले स्वच्छन्दता, अराजकता, आफ्नो राजनीतिक विचार र स्वार्थको आधारमा सङ्कीर्ण सोचबाट वुझ्ने परिपाटी बसेको पाइन्छ । राजनीतिक दल र तीनका नेताहरू दलगत एवम् व्यक्तिगत स्वार्थमा राष्ट्रमाथि खेलबाड गर्दै राष्ट्रियता र राष्ट्रवादमाथि मनलाग्दी भाष्य निर्माण गर्दै राष्ट्रलाई नै सङ्कटतर्फ धकेलिरहेका र कमजोर बनाइरहेका छन् ।

राष्ट्रवादको नेपाली वुझाइका सन्दर्भमा ०६२/०६३ पछि अझ विशेष गरेर गणतन्त्र स्थापनापछि ‘नयाँ नेपाल’ निर्माणको नारा खुवै प्रचलित भयो । यससँग जोडेर निकै अस्पष्ट ढङ्गले राष्ट्रवादको व्याख्या गर्ने प्रयास भएको छ । यो राष्ट्रवादको नारा विशेषगरी माओवादी राजनीतिक धार र केही मात्रा अन्य राजनीतिक दल र नागरिक समाजको आवरणमा फैलिएको पाइन्छ । नेपालको ऐतिहासिक तथ्यलाई पुरै पर्वाह नराखी निरन्तरतामा क्रमभङ्गताको छलाङ्ग मार्ने भन्ने तथाकथित नीतिका नाम जबरजस्ती गरेर पहिलेका हाम्रा मौलिक परम्परा, सामाजिक मान्यता, नैतिकताका व्यावहारिक एवम् सैद्धान्तिक मान्यताका विचार र व्यवहारलाई पुरै अस्वीकार गर्ने र नकारात्मक दृष्टिले हेर्ने प्रयास गर्दा राष्ट्रको ‘एथ्निक वा जातिगत संस्कृति वा उद्भवलाई मान्यता दिने (प्रि–मोर्डियल) दृष्टिकोणलाई पनि अस्वीकार गरिएको हुन्छ भन्ने सोचाइ हाम्रा राजनीतिज्ञमा भएन । परम्परा वा ऐतिहासिक निरन्तरतामा क्रमभङ्गताको नीतिले राष्ट्रवादको वुझाइ र व्याख्या गर्दा नागरिक वा आधुनिकतावादी अर्थात् परिवर्तित परिवेशवादी दृष्टिलाई अपनाउनै पर्ने वाध्यतामा नेपालीलाई पुर्‍याउँछ । नेपाली राजनीतिक नेतृत्वमा यस सम्बन्धमा सैद्धान्तिक ज्ञान लिन नचाहने वा नलिने स्वछन्दतावादी वनाउँछ भन्ने कुराको हेक्का नभएको वुझाउँदछ । युरोपमुखी आधुनिकतावाद र उपभोगवादी औद्योगिक वा प्राविधिक बजारमुखी क्रान्तिले उब्जाएको अन्तराष्ट्रियतावादको चपेटामा पर्दै विकसित भएका पुँजिवादी,समाजवादी र साम्यवादीसमेत वैचारिक धारलाई प्रयोगमा उतार्दा जातिगत समुदायका संस्कृतिवादी विचारलाई राजनीतिक व्यवस्थाभित्र ढाल्न अत्यन्त कठिनाइ हुने वा हाम्रो जस्तो देश र समाजमा असम्भव नै हुनसक्छ भन्ने कुरामा समेत हेक्का नभएको अनुभव हुन्छ । नेपालले चाहेर–नचाहेर, बुझेर वा नवबुझेर जस्तो परिवेशमा भए पनि युरोपमुखी आधुनिकतावाद र त्यस अन्तरगत विकसित भएका विचार, दृष्टिकोण र व्यवहारबाट अलग भएर वस्न सक्ने अवस्था अहिलेसम्म दुनियाँका कुनै पनि देशमा सम्भव देखिंदैन । नेपाल पनि त्यसबाट अलग रहन सक्दैन ।

वास्तवमा हाम्रो युगका नव अन्वेषक तथा विश्लेषकहरू ‘राष्ट्रवाद’ को वुझाइमा युरोपको ‘नेशनाालिजम्’ सँग तुलना वा अनुकरण गर्न मिल्दैन भन्ने धारणा पनि अगाडि ल्याउन थालेका छन् । त्यसै सन्दर्भमा आधुनिक युरोपको ‘नेशनालिजम्’ को सम्बन्ध जन्म वा वंश सम्बन्धित समुदायगत हुने र हाम्रो प्राचीन युगदेखिको ‘राष्ट्र’ र ‘राष्ट्रवाद’ भने कुनै एक भूखण्डमा आफ्नो छुट्टै राजनीतिक इकाइ सहितको स्थानीय सभ्यता, संस्कृतिहरूको मिलन मानव सभ्यताको देशसँग सम्बन्धित हुने हो पनि भन्ने गर्दछन् । यसको प्रमाणका निम्ति दक्षिण एसियामा प्राचीनतम युगदेखिका ‘वयम् राष्ट्रियम्’ भन्ने जस्ता र सौराष्ट्र, राष्ट्रकूट, महाराष्ट्र जस्ता राजनीतिक व्यवस्थासहितका भूखण्डीय देशलाई औंल्याउने गर्दछन् । यस मानेमा ‘राष्ट्र र राष्ट्रियता’ को इतिहास दक्षिण एसियायी झन्डै ४००० वर्षको र युरोपमा २०० वर्ष जतिको मात्र देखिएको छ । हाम्रो राष्ट्रियताको धारणा जन्मगत समुदायको आधारमा नभई भूगोल, राजनीतिक इकाई र त्यससँग सम्वद्ध सभ्यताा वा संस्कृतिसँग सम्बन्धित देशभक्तिको आधारको माग हुनुपर्ने हो । तर पश्चिमा आधुनिकताको प्रभावका कारण अलमलमा परेको स्थिति चाहिँ पक्कै हो ।

जनता
राजनीति वा अन्य कुनै शास्त्रमा अहिलेसम्म जनताको सर्वस्वीकृत परिभाषा छैन । यस शब्दले मानिसको साझा इतिहास, भाषा र साँस्कृतिक विशिष्टताको आधार भएको एउटा समुदायलाई जनाउँदछ । यस्तो वैशिष्ट्यको आधारमा समूहबाट आफ्नो पहिचानलाई अलग राख्दछ । यसलाई अर्को ढङ्गबाट परिभाषित गर्नुपर्दा जनता भन्नाले मानव समुदायको त्यो एक विशेष प्रकार हो जसले आफ्नो साझा भविष्यको सुनिश्चितताको निम्ति कार्य गर्न सक्षम अस्तित्वको संरक्षण, पुनः प्राप्ति वा स्थापनाको समान आकांक्षा राख्दछन् । आधुनिक अन्तर्राष्ट्रिय कानुनले उद्देश्यमूलक ढङ्गले आत्म निर्णयको अधिकार जनतामा निहित छ, राष्ट्र, राज्य वा अल्पसङ्ख्यकहरूमा होइन । अधिकांश देशहरूमा जनता, राष्ट्र, र बहुसङ्ख्यक समूह बिच पूर्ण रूपमा सौहाद्र्रता बिरलै मात्र पाइन्छ । जनता भनेको वास्तवमा एउटा निश्चित भूगोलभित्र बसोबास गर्ने व्यक्तिहरूको समष्टिगत स्वरूप हो । शब्दसागरले जनतालाई ‘जनको पन वा स्थिति, जनसमूह, मानवजाति, लोक, प्रजावर्ग’ भनेको छ ।

नागरिक
परम्परागत रूपमा नगरमा बस्ने मानिसहरूलाई नै नागरिक भनिन्थ्यो । प्राचीन कालमा साना साना नगरराज्यको प्रचलन थियो तर अहिले आधुनिक राज्य परिभाषामा कुनै पनि राज्यको सीमाभित्र बस्ने सबै जनतालाई नागरिक मानिन्छ । कुनै पनि देश, क्षेत्र वा भूभागभित्र बसोबास गर्ने मानव जाति नागरिक हुन् ।
आधुनिक कालमा राज्यको विस्तार हुँदै राष्ट्र र बहुराष्ट्रिय राज्यको विकास भयो र त्यहाँका निवासीहरूलाई नै नागरिक भन्ने गरियो । आधुनिक अर्थमा नागरिकता ९ऋष्तष्शभलकजष्उ० भन्नाले राज्यको सदस्यता हो । राज्यबाट अधिकार प्राप्त एवम् त्यस प्रति संविधान र कानुनद्वारा कर्तव्यबोधले आबद्ध भएको व्यक्ति नै नागरिक हुन्छ ।
अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले नगरमा बस्ने व्यक्ति नै नागरिक हुन् भनेको छ । जस्तो काठमाडौंका नागरिक, लन्डनका नागरिक । त्यसै गरी जन्मका आधारमा वा आप्रवासनका आधारमा राज्यको अधिकार प्राप्त व्यक्ति नै नागरिक हुन् भनेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित नेपाली बृहत् शब्दकोशले ‘१. नगरसम्बन्धी, नगरको, नगर । २. कुनै देश वा राष्ट्रको विधानअनुसार सामाजिक, राजनीतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनुपर्ने व्यक्ति’ भनिएको छ ।

नागरिकका साझा सामाजिक पहिचान हुन्छन् । विभिन्न जात, भाषा–भाषी, विभिन्न धर्म र संस्कृति अनि राज्यको विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरूको आ–आफ्नो मौलिक पहिचान हुन्छ । ती सबै धर्म, संस्कृति र जाति मिलेर राष्ट्रको एउटा सामूहिक संस्कृति निर्माण हुन्छ । त्यही साझा सार्वजनिक संस्कतिबाट नै राज्यको साझा नागरिक पहिचान बन्दछ । राज्यको नागरिकको पहिचानका रूपमा नागरिकताले आम नागरिकलाई आपसमा एकताबद्ध गर्दछ, जसबाट समाजका विभिन्न समूहको पहिचानभन्दा साझा पहिचानको बन्धन बलियो हुन्छ । यसबाट नै राष्ट्रिय भाव विकास हुन्छ र देशको राष्ट्रियताको आधार तयार हुन्छ ।

नागरिकले पाउने विभिन्न स्वरूपका अधिकार र बहन गर्ने दायित्वका कारण नै उसको नागरिक हैसियत निर्धारण हुन्छ । नागरिकलाई यो हैसियत सबैभन्दा बढी प्रजातान्त्रिक पद्धतिले मात्र प्रदान गर्दछ । नागरिक प्रमाणिकता नै उसको नागरिकता हो । कुनै पनि राज्यको नागरिकका हैसियतले आपूmले पाएको नागरिक अधिकारको प्रयोग गर्नु भनेको नै नागरिकको अभ्यास हो । नागरिकले नागरिक अभ्यास आफ्नो राज्यमा स्वतन्त्रपूर्वक हिँडडुल गर्न, व्यवसाय वा कुनै सेवा गर्न, कर तिर्न, मतदान गर्न, राजनीतिमा सक्रिय सहभागी हुन, सरकारको कुनै निर्णय वा कदमको समर्थन वा विरोध गर्न प्रयोग गरिने अभ्यास नै नागरिकताको अभ्यास हो । नागरिकलाई यी सबै अभ्यासको स्वतन्त्रपूर्वक प्रयोग गर्न पाउने स्वतन्त्रता नै उसको नैसर्गिक अधिकार हो ।

राजनीति
साधारणतः शासन गर्ने नीतिलाई राजनीति भनिन्छ । नीतिहरूको मूल नीति नै राजनीति हो । राज्य सञ्चालन वा राज्य व्यवस्था परिलक्षित सबै प्रकारको समर्पित नीति वा क्रियाकलापलाई राजनीति भनेर बुझ्न सकिन्छ । राज्यको मूल नीति नै राजनीति हो । राज्यको सुरक्षा र जनताको कल्याणका लागि राज्यको नीति र व्यवस्थालाई व्यवस्थापन गर्ने काम र व्यवहार राजनीति हो ।

त्यसैगरी राजनीति गर्नु भनेको के हो ? के गरे राजनीति गरेको मानिन्छ ? भन्ने कुरालाई स्पष्टसँग बुझ्नु राजनीतिमा भरखर पाइला टेक्दै गरेका नवयुवा जमात, कार्यकर्ता वा राजनीतिकर्मीको पहिलो सर्त हो । राजनीतिक कर्मीको काम देशको रक्षा गर्नु, आम जनताको सेवा र सुविधाका लागि काम गर्नु नै राजनीति गर्नु हो । जनताको सेवा सुविधा भन्ने वित्तिकै धनी देश वा विकसित देशमा उपलब्ध उपयुक्त सेवा र सुविधासरह कायम गर्दै त्यसमा थप विस्तार, गुणस्तरमा सुधार गर्दै जानु हुन्छ भने नेपाल जस्ता गरिब विपन्न देशमा, देशलाई कसरी धनी बनाउने, गरिब जनतालाई कसरी आधारभूत सेवा र सुविधा पुर्‍याउने भन्ने हुन्छ । यसरी देशको सुरक्षा गर्न र जनताको जीवन स्तर माथि उठाउनको लागि राजनीति अनिवार्य माध्यम वा सर्त हो । छोटकरीमा भन्दा देश र जनताको पक्षमा गरिने पवित्र सामाजिक कर्म नै राजनीति हो ।

प्रजातान्त्रिक पद्धतिमा मात्र आम जनताले राजनीति गर्ने अवसर पाउँछन् । प्रजातन्त्रमा मात्र जनताले आफ्नो विचार प्रकट गर्न पाउँछन्, त्यहाँ जनताको अधिकार हुन्छ, समग्रमा मानव अधिकार हुन्छ । नेपाल जस्तो आर्थिक दृष्टिले विपन्न देशको सन्दर्भमा गरिब किसान र मजदुर वर्गको जीवन स्तर माथि उठाउन गरिने प्रयत्न वा कर्म नै राजनीति हो । आर्थिक दृष्टिले विपन्न वर्गको जीवन माथि उठाउनु नै राजनीतिको प्राथमिक उद्देश्य रहेको हुन्छ । प्रजातान्त्रिक पद्धतिबाट नै यी सबै प्रयास गरिन्छ । राजनीति कुनै व्यवसाय, अर्थोपार्जन वा जीविकोपार्जनको कुनै पेशा होइन । यो देश सेवा, जन सेवा, समाज सेवा हो । राजनीतिकर्मी समाजसेवी हो । अहिले राजनीतिलाई गरिखाने पेशा बनाइएको छ, यो विलकुलै गलत भइरहेको छ, राजनीतिलाई पेशा बनाउनु राजनीतिक कर्म होइन ।

कुनै पनि तानाशाही व्यवस्थामा राजनीतिमा जनताको प्रत्यक्ष सहभागिता रहँदैन । तानाशाही व्यवस्थामा जनताले राजनीति गर्न पाउँदैन । तानाशाहले कर्मचारीतन्त्र, प्रहरी र सेनाको बलमा जनता माथि शासन गर्दछन् । चाहे त्यो निरङ्कुश राजतन्त्र भएको देश होस्, चाहे त्यो सैनिक तानाशाह वा साम्यवादी (कम्युनिष्ट) तानाशाह हुन्, त्यहाँ आम जनताले आफ्नो स्वतन्त्र मत प्रकट गर्न, सरकार बनाउनका लागि आफ्नो प्रतिनिधि छान्न वा राजनीति गर्न पाउँदैनन् । त्यहाँ वैयक्तिक स्वतन्त्रता र मानव अधिकार हुँदैन । अतः प्रजातन्त्रमा मात्र जनताले राजनीति गर्ने स्वतन्त्रता पाउँछन् ।

शब्दसागरमा ‘राजा वा राज्यको नीति, देशको व्यवस्था र अन्य राष्ट्रप्रतिको कूटनीतिक आदि सम्वन्धी ठिक राख्ने राजा वा सरकारको नीति वा व्यहारगत व्यवस्था’ लाई राजनीति भनिएको छ । नेपालको भू–भागभित्र बसोबास गर्ने सबै जाति, भाषा र धर्मका मानिसहरूको देश नेपाल हो । अतः नेपालको सुरक्षा अखण्डता, सार्वभौमसत्ता, र आम नेपाली जनताको भलाइका लागि गरिने सेवा वा कार्य नै राजनीति हो भन्ने कुरा राजनीतिक कर्मीले राम्रोसँग वुझ्नुपर्छ । नेपाल बनाउने हामी नेपालीले नै हौँ । राजनीति त्यसको माध्यम मात्र हो । प्रजातान्त्रिक पद्धति भनेको जनताले आफ्नो देश आफैं बनाउने पद्धति हो ।

बहुलवाद
एकभन्दा बढी विचार, संस्था वा मान्यतालाई स्थान दिने, स्वीकार वा मान्यता दिने सोच वा पद्धतिलाई नै बहुलवाद भनिन्छ । सङ्घ संस्थाहरूको विविधताको अस्तित्व र त्यसको स्वीकृतिलाई एक प्रकारले बहुलवाद मानिन्छ । प्रजातान्त्रिक शासन पद्धतिले मात्र वाहुलवादलाई सम्मान वा स्वीकार गर्दछ । कुनै पनि अधिनायकवादीले प्रायशः बहुलवादलाई स्वीकार गर्दैन । कम्युनिष्ट अधिनायकवादीहरूले बहुलवादलाई स्वीकार गर्दैनन् । नेपालमा संविधानसभाबाट संविधान निर्माण गर्दै गर्दा तत्कालीन एक कम्युनिष्ट अधिनायकवादी दल नेकपा माओवादीले संविधानमा बहुलवादलाई स्वीकार गर्न मानेको थिएन । नेपाली काँँग्रेस पार्टीको अडानले मात्र माओवादी बहुलवादलाई स्वीकार गर्न वाध्य भएको थियो ।
बहुलवादी विचारधारामा विचारको विविधतालाई स्वीकार गरिन्छ । प्रजातान्त्रिक राजनीतिक पद्धतिले मात्र बहुलवादलाई स्वीकार गर्दछ । अधिनायकवादी कम्युनिष्ट शासन पद्धति भएको राष्ट्रमा कम्युनिष्ट विचारबाहेक अरू विचारलाई स्वीकार गरिदैन । राजनीतिक दल खोल्न छुट भएका ठाउँमा पनि कम्युनिष्ट विचारमा आधारित दल मात्र खोल्न पाइन्छ । त्यहाँ अन्य विचारलाई स्थान दिइदैन । कुनै एक राजनीतिक दल, सङ्घ संस्था वा पद्धतिको विचारलाई आम जनतामा लाद्ने, जबरजस्ती स्वीकार गर्न बाध्य बनाउने कार्य नगरी सबै दल, सङ्घ संस्था वा विविध सामाजिक प्रथा, धार्मिक एवम् साँस्कृतिक मान्यता, विश्वास, त्यसका आचरण र व्यवहार आदि प्रतिको सम्मान र आदरभाव, व्यक्तिगत अधिकारहरूको रक्षा, राजनीतिक खुलापन, र राजनीतिक सिर्जनशीलता, नागरिक सहभागिता, साझा लक्ष्यमा सहमतिको खोजी यी विषय बहुलवादी विचारका वैशिष्ट्य हुन् । बहुलवादी समाजमा समाजका विभिन्न इकाईहरूका बिच शान्तिपूर्ण सहअस्तित्व कायम हुन्छ ।

गणतन्त्र
जनताको लागि जनताद्वारा गरिने शासन नै वास्तवमा गणतन्त्र हो । गणतन्त्र शासन व्यवस्थाको एउटा स्वरूप हो जसमा वंश वा बिरासतको आधारमा शासन गर्ने पद्धति नभएर नागरिकका प्रतिनिधि नै शासनको हकदार हुन्छन् अर्थात् राजा वा राजसंस्थाको संवैधानिक व्यवस्था नभएर नागरिक प्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने वैधानिक पद्धति नै गणतन्त्र हो । विशेष विधि, पद्धति वा संविधानको अधीनमा रहेर आम जनताको प्रनितिनिधिले शासन गर्ने प्रणाली नै गणतन्त्र हो ।

अक्स्फोर्ड डिक्स्नेरीले ‘कुनै राष्ट्रमा सार्वभौम सत्ता जनता वा जनताको प्रतिनिधिको अधीनमा रहने र जहाँ राजा नभै निर्वाचित वा मनोनित राष्ट्रपति वा राष्ट्राध्यक्ष रहने प्रद्धति नै गणतन्त्र हो’ भनिएको छ । ‘गण’ को शाब्दिक अर्थ जनता वा नागरिकहरूको समूह भन्ने हुन्छ र ‘तन्त्र’ को अर्थ प्रणाली वा पद्धति भन्ने हुन्छ । दुई भिन्न शब्द मिलेर नै गणतन्त्र शब्द बनेको हो । गणतन्त्रको मतलब, यो प्रजातान्त्रिक व्यवस्था भनेर बुझिन्छ । शाब्दिक हिसाबले यो प्रणाली प्रजातान्त्रिक मानिए तापनि व्यवहार र दुनियाँको प्रचलनमा गणतन्त्रको अर्थ प्रजातान्त्रिक शासन प्रणाली भन्ने हुँदैन । सबै गणतान्त्रिक देशहरू प्रजातान्त्रिक हुन्छन् भन्ने सुनिश्चितता हुँदैन । गणतन्त्रमा प्रजातन्त्र हुन पनि सक्छ, नहुन पनि सक्छ । संसारमा प्रचलनका दृष्टिले गणतान्त्रिक देशहरूका प्रजातन्त्र भन्दा विभिन्न प्रकृतिका अधिनायकवादी निरङ्कुश सत्ता सक्रिय छन् । सैनिक तानाशाह र साम्यवादी व्यवस्थामा प्रजातन्त्रको कल्पना गर्न सकिन्न । राजतन्त्रात्मक देश प्रजातान्त्रिक हुन सक्छ तर सैनिक एवम् कम्युनिष्ट तानाशाही व्यवस्था गणतान्त्रिक त कहलिन्छन् तर प्रजातान्त्रिक हुँदैन ।

नेपाली राजनीतिमा कथित नागरिक समाज, बुद्धिजीवी र राजनीतिज्ञहरूले गणतन्त्रका सम्बन्धमा जनतामा व्यापक भ्रम छर्ने, शब्दको अपव्याख्या गर्ने क्रम खुब चलेको छ । गणतन्त्रलाई प्रजातन्त्र कै अर्थमा अपव्याख्या गरिएको छ । ०७ सालको परिवर्तन प्रजातन्त्रको लागि, ०४६ सालको जनआन्दोलन प्रजातन्त्र पुनःस्थापनाको लागि र ०६२/०६३ को परिवर्तन लोकतन्त्रका लागि भएको र जनमतको परीक्षणविना राजसंस्थालाई हटाएपछि लोकतन्त्र कै अझ विकसित एवम् समृद्ध रूपमा गणतन्त्र स्थापना भएको भनेर जनतासामु भ्रम छरिएको छ । देशपछाडि परेको सामन्तवादी राजसंस्था र केन्द्रिकृत शासन प्रणालीको कारणले गर्दा हो । गणतन्त्र स्थापना हुने बित्तिकै अब जनताका दुःखका दिन गए, देश सम्मृद्धिको बाटोमा गयो, देशको कायापलट हुने छ भनेर जनतामा मिठो सपना बाँडियो तर सारमा देश बलियो बन्न सकेन, जनताको जीवन स्तरमा खास परिवर्तन हुन सकेन । नेपाली सन्दर्भमा अङ्ग्रेजी शब्द Democracy भनेको प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र, जनवाद जे भनिए पनि ‘गणतन्त्र’ शब्दको अर्थ ‘प्रजातन्त्र’ हुँदैन । ‘प्रजातन्त्र’ शासनको एउटा पद्धति हो भने ‘गणतन्त्र’ शासनको एउटा स्वरूप हो ।

प्रतिक्रिया