आइतबार, मंसिर १८, २०७९

व्याकुल माइलालाई मासिक भत्ता ठीक कि बेठीक ? के भन्छन् अन्य स्रष्टा ?

नेपालखोज २०७९ असोज १२ गते ८:४४

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई उनको रचना छनोट भएपछि तत्कालै ५ लाख रुपैयाँ पुरस्कार दिएको थियो तर ती ‘युवक’ स्रष्टालाई सरकारले मासिक भत्ता दिने परिपाटी चलाएको छ । पटक-पटक वृद्धि गरेर त्यो मासिक भत्ता रु ५०००० पुर्याएको समाचार प्रकाशमा आएको छ । यसरी राष्ट्रिय ढुकुटीबाट हात खुट्टा सद्देलाई मासिक भत्ता दिनु उचित कि अनुचित भनेर ‘शब्दपथ’ले केही चर्चित साहित्यकारहरूको विचार सङ्कलित गरेर यहाँ प्रस्तुत गरेको छ ।

ती ‘युवक’ स्रष्टाले हालै दिएको अन्तर्वार्तामा आफूलाई सरकारले भत्ता मात्र नभएर घर-गाडी पनि दिनुपर्ने भनी घुमाउरो किसिमबाट माग पनि गरेका छन् रे । सङ्कलक : किशोर पहाडी जैनेन्द्र जीवन (कथाकार)

पहिले पाँच लाख एकमुष्ट, पन्ध्र हजार प्रति महिना । त्यतिले पुगेन भनेर वहाँ आफैंले भने पछि मासिक पच्चीस हजार दिइएको रे भन्ने सुनेको हुँ । अहिले पनि त्यसै गरी बढाई मासिक पचास पुर्याइएको हो रे । यदि यसो हो भने यो लिने दिने दुबैको लागि राम्रो र गरिमामय कुरा भएन । ड़ा. शशी थापा (कथाकार)

हात खुट्टा साबुत भएका काम गरेर खान सक्ने उमेरका स्रष्टालाई सरकारले यसरी भत्ता दिएर अपाहिज बनाउनु बेठीक हो । तर ठूलै रोग लागेमा उपचार गर्ने हैसियत नभएमा भने सरकारले त्यस समय नेपालकै सरकारी अस्पतालमा सहुलियत पूर्ण उपचार गराइदिनु उपयुक्त होला । महेश प्रसाईं (कथाकार / समालोचक)

सरकारले नेपालका अन्य स्रष्टाहरूलाई पनि कुनै निश्चित साधना अवधिका आधारमा जति सकिन्छ भत्ता प्रवन्ध गर्न आवश्यक छ । दीप्स शाह (कवि)

ओस्कर, नोवेल पुरस्कारले सम्मानितहरू पनि बाँकी समय काम नगरी खाँदैनन् । सग्लै हातगोडा भएको हट्टाकट्टा मान्छे , संयोगले कुनै प्रतियोगिता विजेता भएर तोकिएको पुरस्कार राशि कुम्ल्याइसकेपछि पनि आजीवन सुविधा पाउनु या दिनु आफैमा गलत नजिर हो । अझै मलाई मान र पैसो पुगेन भनेर लुब्धता प्रकट गर्नु त राष्ट्रिय लज्जाकारिता नै हो । हुन त भागशान्तीमा तीन महिना मन्त्री बनेर आजीवन सेवा सुविधा लतार्ने नकच्चरोहरूको देश हो यो । ठीकै होला । मेरो सम्मान त चक्रपाणी चालिसेलाई नै छ राष्ट्रिय गानको सन्दर्भमा । राधेश्याम लेकाली (अध्यक्ष, साहित्यिक पत्रकार संघ)

राष्ट्रिय गान सिर्जनावापत लेखकलाई नेपाल सरकारले एकमुष्ट रकम उपलब्ध गराएको थियो । यो ज्यादै राम्रो कार्य थियो । सरकारले थप मासिक सहयोग गर्नु राम्रो हो । तर राष्ट्रिय गानका सजर्क योग्य, दक्ष, युवा हुनुहुन्छ । उहाँलाई मासिक सहयोगको सट्टा उहाँको योग्यता र दक्षता हेरेर सरकारी सेवामा राख्नु राम्रो होला । यसो भयो भने स्रष्टाको सम्मानमा ठेस पनि लाग्दैन । स्वाभिमानमा चोट पनि लाग्दैन । सिस्टमबाट काम गरिएको भए यी विवाद आउने थिएन । नेताहरू बिरामी हुँदा सरकारी ढुकुटी रित्तिन्छ । तर स्रष्टाहरू बिरामी हुँदा राज्य उदासिन हुने गरेको छ । नेताहरूले देश लुटेर बसेका छन् । राष्ट्रिय गानका सर्जकलगायतलाई बिरामी हुँदा राज्यले दिनसक्ने सुविधा उपलब्ध गराउन सरकार चुक्नु हुँदैन । स्रष्टा देशको धुकधुकी हो । देशको गौरव हो । गीता रेग्मी (कोषाध्यक्ष, नियात्रा साहित्य समाज)

मान्छेले बलेको आगाे त ताप्ने रछ नि ! व्याकुल माहिलाकाे रचना राष्ट्रिय गानमा परेपछि विशेष गरी कथाकार राजनविक्रम थापाको पहलमा गाेरखा साहित्य संगम मार्फत साहित्यिक कार्यक्रम भएको थियो ! त्यो कार्यक्रममा म पनि व्याकुल माहिला सँगै गएँ र सँगै फर्किए ! त्यतिबेला पनि उनको गुनासो रहन्थ्याे ” राष्ट्रिय गानका सर्जक भन्ने उपाधि त पाएँ तर आम्दानीकाे स्राेत केही छैन ! ” त्यसपछि मैले स्कुलका वार्षिकोत्सबमा प्रमुख अतिथि बाेलाईदिएँ ! बच्चाहरू आफूले दैनिक गाइरहेकाे राष्ट्रिय गानका सर्जक भेट्दा हाैसेलान् भनेर ! पछि पछि पनि स्कुलको वार्षिकोत्सबमा एउटै मञ्चमा परिन्थ्याे ! उनले विद्यार्थीलाई हाैसला र प्रेरणा दिएको थाहा भएन तर व्यवस्थापनसँग खर्चको कुरा गरेको सुनेँ ! ओहो , वर्षाै वर्ष भरखरैकाे युवाले मागेर खान मिल्छ ? मन अमिलो भयो ! घर व्यवहार र बालबच्चा जन्माउने र हुर्काउन घन्टौं घरयसी काममा समय बिताउने महिला त श्रीमानसँग कति हात फैलाउने भनेर जागिरको जाँताे पेलिरहेका छन् भने व्याकुल माहिलाकाे आफ्नै कमाई खाने जाेश के ले, कसरी हरायो ? जागिर खाने ईच्छा शक्ति राष्ट्रिय गानले गुमेको हो त ? फेरि अहिले मासिक भत्ताको कुरा एक मन लागेको छ नेता र भिआईपिका नाममा लुटिरहँदा एउटा ठिठाेले खाओस् ! फेरि अर्को मनले साेच्छ यो त व्याकुल माहिलालाई निकम्मा बनाउने चाल हो ! अष्ट्रेलियाले त्यहाँका आदिवासीलाई ज्यादति भएको क्षतिपूर्ति सहित भत्ता र बस्ने व्यवस्था गरेको रहेछ ! उनीहरू काम नगरी पैसा आएपछि रक्सी खाएर सडकमै मागिरहेका भेटिन्छन् ! कतै व्याकुल माहिलाकाे हालत त त्यस्तै हुँदैन ? रचनाले पाँचलाख पाईसक्याे ! मदन पुरस्कारको रकम चारलाख छ ! पदमश्रीकाे तीन लाख छ ! पुरस्कृत प्रतिभाहरूले कृतिकै फल खाइरहेछन् ! पुरस्कार त नयाँ सृजनाका लागि उर्जा र दायित्व पाे हो त ! त्यसपछि खै उनका रचना ? खै उनको कृति ? के मैले मात्रै नसुनेकाे हुँ र ? एउटा प्रतियोगितामा साथीले मेरा लागि पनि लेखिँदैन भनेर करकर गरेपछि लेखिएको कविता पुरस्कृत र आफ्नै नाममा पठाएको कविता केहीमा पनि नपरेको सुनेको थिएँ न त्यस्तै भएको त हाेईन ? शङ्का नि ! यदि व्याकुल माईलासँग स्वाभिमान छ भने उहाँले त्यो भन्दा राम्रा कृति लेखेर सृजनाबाटै नाम र घर चलाउन् ! उनी सफल र सबल बनुन् मेरो शुभेच्छा छ । ड़ा. गोविन्दसिंह रावत (संस्थापक, सर्वनाम)

यसलाई साहित्यमा राजनीतिकरण भन्नुपर्छ । २०४६ सालको आन्दोलनपछि दलका झोलेहरू प्राज्ञ बनेपछि पहिलो काम प्राज्ञ भएपछि पेन्सन पाउने बनाए । अब राष्ट्र गान लेखेकोमा पुरस्कार पाइसकेपछि ज़िन्दगी भरि पेन्सन किन ? यसले साहित्यको गरिमा कम गर्दै चाकरीको गरिमा बढाउँदै लान सक्छ। आज देशमा दलहरूले गरेको संविधान र न्याय प्रणालीमाथिको हस्तक्षेपको विरूद्ध यी हनुमान साहित्यकारहरू मौन छन्। किनभने यी सब पदको लोभमा देशलाई दाउमा लगाउनेहरू हुन्। सुमन सौरभ (लघुकथा लेखक)

प्राय: अनुत्पादक मानिने बहुआयामिक “कला/ सिर्जना”प्रति सरकार उदार हुनु सकारात्मक छ । सरकारले सफा नियतकासाथ मापदण्ड र कार्यविधि बनाएरै यस्ता कार्यहरूमा निरन्तरता दिनुपर्दछ । विभिन्न विधाहरूमा एउटालाई प्रोत्साहन दिने र अर्कोलाई नदिने गर्नुहुँदैन । अर्को कुरा सर्जकले पनि लालचकै हदमा नि:शुल्क भौतिक सुविधाको प्राप्तिको अपेक्षा गर्नु हुँदैन, जुन अधि-अपेक्षा देखिएको छ । भौतिक साधन प्राप्तिकै अपेक्षा हो भने त सिर्जनाको जटिल र ध्यानस्थ प्रकृयाबाट अलग्गिएर चटपटे बेच्न थाल्दा हुन्छ !! श्रीओम श्रेष्ठ रोदन (अध्यक्ष, नेपाल स्रष्टा समाज)

सरकारले स्रष्टाको सम्मान गर्नु राम्रो हो । तर समग्रमा हुनसकेको छैन । नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनेहरूलाई सरकारले देखेको छैन, सुनेको छैन । जीवनभरि साहित्यमा समर्पित स्रष्टाहरूलाई चिनेको छैन । सत्ताले सधैँ राजनीतिक पार्टीका नारा लेख्ने र नेता नजिक हुनेहरूलाई चिनेर ठूलो मान्छे बनाएको उदाहरणै उदाहरण छन् । एकमुष्ठ रकम र नियमित भत्ता आफैमा मिल्ने कुरा होइन । राष्ट्रगानका रचयितालाई एकमुष्ठ, भत्ता र शतप्रतिशत थप गरेर सर्जकको सम्मान भएकोजस्तो देखिन्छ । तर बेवास्ता गरिरहेका हजारौँ स्रष्टाहरूप्रतिको अप्रत्यक्ष अपमान पनि भएको छ । यत्तिको निर्णय गर्नसक्ने सरकारले अग्रज र अशक्त स्रष्टाहरूका लागि किन केही गर्न सक्दैन ? यसबाट गीतकारको सत्ता सामर्थ्य बलियो देखिन्छ । यसले आर्थिक लाभ त हुन्छ नै । अरु आशङ्का पनि जन्मिन्छ कि ? मुरारि सिग्देल (सञ्चालक, शब्दपथ)

यो प्रश्नमा नै जवाफ छ । सरकारले यस्तै चटक गर्छ, घरीघरी । यो लोकतन्त्रमा हामी जनताले कर र लेखक बापत लेखस्व बुझाएका छौं । त्यही पैसाको दुरुपयोग भएको छ । कोही राज्यलाई तिर्छन् ,कोहीलाई राज्यले तिर्दछ। साहित्यको सेवामा र संरक्षण गर्ने हो भने पुस्तकालय खोल्ने ,पुराना र अहिलेका विशिष्ट साधकका अप्रकाशित कृति निकाल्ने ,स्थलगत मूल्यांकन गरी पुरस्कारको व्यवस्था अशक्त ,जनजाती र उपेक्षित बाल प्रतिभालाई खोजी खोजी रचना प्रकाशन गरे साहित्यको विकास होला । उहिलेको साहित्य पन्चायत र दरवार वरिपरि घुम्यो,अहिले लोकतन्त्रका नाममा दल र दलका दरवार वरिपरि घुमिरहेको छ । के फरक भयो त? सुमन थापा सङ्गम (कवि)

राष्ट्रिय गीतका गीतकार व्याकुल माइलालाई सरकारले गरेको सम्मान र राष्ट्रिय गान छनोट भए वापत सरकारबाट एकमुष्ट ५ लाख रुपैयाँ पुरस्कार सम्मान योग्य छ । सरकारले सक्षम रचनाकारलाई फेरि मासिक भत्ता पचास हजार दिने निर्णय त्यति उपयुक्त नभएको ठान्दछु । दुर्गम जिल्लाका जनताले सबैभन्दा सस्तो औषधि सिटामोलसम्म नपाउने स्थितिलाई ध्यानमा राखेर सो रकम स्वास्थ्य, शिक्षा र अशक्तका निम्ति लगानी गरे एउटा होनहार विद्यार्थी शिक्षाबाट वन्चित हुने थिएन एउटा बिरामी सिटामोल नपाएर तड्पिने थिएन । दुर्गम क्षेत्रका जनतालाई थोरै भए पनि राहत मिल्ने थियो भन्ने मेरो ठम्म्याइ छ । नारायण तिवारी (कथाकार)

यो स्रष्टाप्रति राज्यको सम्मान हो । यसलाई अन्यथा मान्नुपर्ने कुनै कारण म त देख्दिन । फेरि, यो राष्ट्रिय गान, यसका शब्दहरू साँचो अर्थमा राष्ट्रियगान भएको बेला । यसअघि पनि थियो राष्ट्रियगान । तर, त्यो साँचो अर्थमा राष्ट्रियगान थिएन । ‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति, श्री ५ सरकार महाराजाधिराजको सदारहोस् उन्नति….’ यस्तो पनि राष्ट्रिय गान हुन्छ ? तसर्थ यस साँचो राष्ट्रगानका श्रष्टालाई राज्यले पहिल्यै एकमुष्ट ५ लाख उपलब्ध गराइसके तापनि यसरी सहज जीवनयापनका लागि मासिक रूपमै वृत्तिभरण उपलब्ध गराउनु सराहनीय र उचित ठान्दछु म । रु.पचिसहजार पनि हालको अवस्थामा सहज जीवनयापनका लागि न्युन थियो । यसमा वृद्धिगरेर ५० हजार पुर्याउनु पनि जायज छ । जहाँसम्म हातखुट्टा साबुत भएका, काम गरेर खानसक्नेलाई किन भत्ता भन्ने सवाल छ, यो पुरै गलत छ । मैले माथि नै उल्लेख गरिसकेको छु कि यो उनलाई राज्यले गरेको सम्मान हो । स्रष्टा व्याकुल माइलाको आर्थिक अवस्था मलाई थाहा छैन । मानौं उनी धनीमानी हुँदा हुन्, त के राज्यले यसरी आर्थिक रूपले सम्मान नगर्ने त ? काम गर्नेलाई नदिने, नगर्नेलाई दिने, धनीलाई नदिने, खान नपुग्नेलाई खान दिने, सुकुम्बासीलाई दिने- यस्तो विषयभन्दा भिन्न विषय हो यो । अर्थात् जुनसुकै हैसियतका स्रष्टा हुन्- तिनको अवस्था हेरेर गरिएको सम्मान होइन यो । यो त गणतन्त्रमय नेपालमा साँचो राष्ट्रगानका रचनाकारप्रति गरिएको विशिष्ट सम्मानको विषय हो । हो, प्रश्न नै उठाउने भए चुनावको बेला नै किन, पहिले किन होइन, वा रकम बढाइएन ? भन्न सकिएला । यो राजनीतिक विषय भयो, त्यता नजाउँ । तर, यति फेरि भन्छु यो राज्यको तर्फबाट एउटा सच्चा राष्ट्रगानका रचनाकारप्रति गरिएको राष्ट्रको सम्मान हो । राज्यलाई धन्यवाद ! प्रिय स्रष्टा व्याकुल माइलालाई हार्दिक बधाई ! पवन आलोक (प्रधान सम्पादक, अभिव्यक्ति)

व्याकुल माइलाज्यू प्रति मेरो सम्मान छ । सरकारले पहिले नै एकमुस्ट सम्मान राशी ५ लाख दिई सकेको पनि छ । धनी मुलुक भएको भए योगदानका आधारमा स्रष्टाहरूलाई भत्ता दिनु नराम्रो त होइन तर कैयौं अशक्त, आर्थिक स्थिति कमजोर भएका, रोगी , उपचार नपाएर मृत्यु वरण गर्नु पर्ने स्थिति भएका स्रष्टाहरूलाई सरकारले हेर्दैन । आफ्ना आसेपासे, आफ्ना दलका, आफ्ना गुटकालाई मात्र पुरस्कृत गर्ने, सम्मान गर्ने, पद दिने जस्ता कामहरू भैराखेको अवस्था छ। देशको आर्थिक अवस्थालाई हेर्ने हो भने सक्षम व्यक्तिलाई भत्ता दिने यो निर्णय उचित होइन । स्रोत : शब्द पथ

प्रतिक्रिया